गाईको आत्मा शान्तिको लागी भन्दै समाजवादीपार्टीले गर्यौ श्रद्वान्जली सभा
नेपालगन्ज, नेपालगञ्ज बाट दैलेख लैजाने क्रममा सुर्खेतको कटकुवा जंगल क्षेत्रमा मारिएका गाईहरुको आत्माको शान्तिको लागी भन्दै समाजवादी पार्टी बाँकेले बुधवार श्रद्धाञ्जली कार्यक्रम सम्पन्न गरेको छ ।नेपालगन्जस्थित त्रिभुवन चोकमा आयोजना गरिएको श्रद्धाञ्जलीसभामा समाजवादी पार्टी बाकेका नेता कार्यकर्ताको उल्लेख्य सहभागिता रहेको थियो ।
गाईको आत्मालाई शान्तिको कामना गर्दै एक मिनेट मौन धारण गरेर शुरु गरिएको सो कार्यक्रममा श्रद्धाञ्जली स्वरुप ५१ वटा दियो बालिएको थियो । समाजवादी पार्टी नेपालगन्ज नगर कमिटी अध्यक्ष श्रवण यादवको सभापतित्वमा आयोजना गरिएको कार्यक्रममा बोल्दै नगर अध्यक्ष यादवले हचुवा पारामा गाईलाई रातारात सुर्खेत पठाएर भिरबाट खसालेर फालिएको घट्नाको जति निन्दा गरेपनि कम हुने वताए ।
उहाँले सो घट्नाको छानविन गृह मन्त्रालयको टोलीले गरिरहेको जनाउँदै निष्पक्ष छानविन गरेर दोषी जो कोही भएपनी कारवाही गर्नु पर्ने माग गर्नु पर्ने वताए । उहाँले गौ हत्याको निष्पक्ष छानविन गरिएन र दोषीलाई कारवाही भएन भने समाजवादी पार्टीले कडा आन्दोलन गर्नेृ चेतावनी पनि दिएका छन् ।
समाजवादी पार्टी बाँकेका उपाध्यक्ष राजन राना मगरले संचालन गर्नु भएको सो कार्यक्रममा पार्टीका बाँके अध्यक्ष कमरुद्दीन राई, प्रदेश पाँचका कोषाध्यक्ष अम्बिका काफ्ले, रशिद कुरैशी, दुर्गेश यादव, बदरुदुजा खाँ, तबस्सुम अन्सारी, अकबर खाँ, रमारानी वैश्य लगायतको सहभागिता रहेको थियो ।
नेपालगन्ज उपमहानगरपालिकाले आफ्नो कान्जीहाउसमा रहेका मध्ये तीन सय ७० गाई, केही गोरु र बाच्छाबाच्छीलाई दैलेखको भैरवी गाउँपालिका–१ को श्रीस्थान पुर्याउन खोजेको थियो । सम्बन्धित स्थानीय तह र श्रीस्थान मन्दिर व्यवस्थापन समितिसँगको समन्वयबिनै लैजान लागिएका गाई वीरेन्द्रनगरको भेरी पुलदेखि कुटकुवा क्षेत्रका विभिन्न जंगल र भीरमा बिहीबार राति साढे १२ बजेदेखि शुक्रबार बिहान चार बजेबीचमा झारिएको थियो । त्यस क्रममा ३५ वटा गाई मृत अवस्थामा फेला परेका थिए ।