युवाहरुले क्रान्तिमा अग्रणी भूमिका खेल्नुपर्छ : महासचिव किरण
बुटवल, नेकपा (क्रान्तिकारी माओवादी)का महासचिव मोहन वैद्य‘किरण’ले युवाहरुले क्रान्तिमा अग्रणी भुमिका खेल्नुपर्ने वताएका छन् ।पार्टी निकट क्रान्तिकारी युवा लिगको दोस्रो बैठकलाई सम्बोधन गर्दै किरणले उक्त कुरा वताएका हुन् । राष्ट्रियता, जनतन्त्र र जनजीविकाका समस्याहरु असाध्यै विकराल अवस्थामा रहेको चर्चा गर्दै महासविच किरणले यी समस्या समाधान गर्नका लागि क्रान्तिको अपरिहार्यता बढेर गएको बताए, “अब गरिने क्रान्तिमा क्रान्तिकारी युवाहरुले अग्रणी भूमिका खेल्नुपर्छ र त्यसका लागि सबै हिसाबले आफूलाई तयार पार्नुपर्छ ।”
पार्टीको सम्पन्न केन्द्रीय समितिले बनाएको संगठन र संघर्षको योजना कार्यान्वयनमा समेत युवाहरुको महत्वपूर्ण भूमिका रहने भन्दै महासचिव किरणले बेरोजगार युवाहरु र वैदेशिक रोजगारीमा गएका युवाहरुले भोग्नु परेका समस्याहरुलाई योजनाबद्ध रुपमा उठाउन समेत संगठनलाई निर्देशन दिए ।
यसैबीच, ११ साउनमा क्रान्तिकारी युवा लिगको सम्पन्न बैठकले संगठनको सदस्यता वितरणलाई सातवटै प्रदेशका जिल्लाहरुमा व्यापक बनाउने, वैदेशिक रोजगारमा गएका र बेरोजगार युवाहरुले भोग्नु परेका समस्याहरुलाई लिएर सरकारलाई ज्ञापन पत्र दिने तथा संघर्षका अन्य सिर्जनात्मक तरिकाहरु अपनाउने, इपिएस र लोकसेवामा अयोग्य भएका युवाहरुलाई पनि संगठित गर्ने, असोज १५ सम्ममा सबै प्रदेशको बैठक र चैत्र सम्ममा सबै प्रदेश तथा जिल्लाका भेला सम्मेलन गरिसक्ने निर्णय गरेको छ ।