जब ३०० गाईलाई एकैसाथ भिरबाट खसालियो…

सुर्खेत, सुर्खेतको वीरेन्द्रनगरदेखि १४ किलोमिटर उत्तरमा दैलेख सदरमुकाम जाने सडक उकालो छ ।

कटकुवा जंगलको सडक छेउमा ठूलै भीर त छैन तर चौपाया भने त्यहाँबाट हिँड्न सक्दैनन् । बिहीबार रातिदेखि त्यही भीरमा साढे दुई सयभन्दा बढी गाईगोरु अड्किएका छन् । १२ गाई र ४ गोरु त मरिसकेका छन् ।

बिहीबार राति ट्रक चालकले ती गाईगोरुलाई भीरमा खसालिदिएका थिए । वीरेन्द्रनगरको प्रवेश क्षेत्र सुब्बाकुना प्रहरी चेक पोष्टमा बिहीबार राति १२ बजेतिर आठ वटा गाईगोरु बोकेका ट्रक इन्ट्री भएको सहायक प्रहरी निरीक्षक प्रमोदसिंह ठकुरीले जानकारी दिए । तीमध्ये ना ६ ख ९९०५, ९१७७, ४९४९ र ना ५ ख १०१५ नम्बरका ट्रक जिल्ला प्रहरी कार्यालयको नियन्त्रणमा छन् ।

बाँकी तीन ट्रकको पनि खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता डिएसपी रवि रावलले बताए । ट्रक चालकले दिएको बयानअनुसार यी गाईगोरु नेपालगञ्ज उपमहानगरपालिकाले पठाएको हो।

नेपालगञ्जका सडकमा छाडा छोडिएका गाईगोरुलाई स्थानीय काञ्जी हाउसमा राखिएको थियो । दैलेखको श्रीस्थानका कृषकले गाई पाल्ने बताएपछि नगरपालिकाले प्रक्रिया पुर्‍याएर दुई सय ९१ गाईगोरु आठ ट्रकमा हालेर दैलेख पठाएको थियो ।

रावलका अनुसार जिल्ला प्रशासन कार्यालय बाँकेबाट गाईहरू दैलेख लैजान सिफारिस दिइएको छ । गाई कसको जिम्मामा दैलेख पठाइएको हो भन्नेबारे अनुसन्धान भइरहेको र सिफारिसमा लेखिएको कुरा अनुसन्धान भइरहेकाले जानकारी दिन नमिल्ने रावलले बताए।

नेपालगञ्ज उपमहानगरपालिकाका सूचना अधिकारी शरदकुमार पौडेलका अनुसार गाईगोरु नगर प्रहरीको नेतृत्वमा दैलेख पठाइएको थियो । बाटोमा गाईगोरु मर्न थालेपछि नगर प्रहरीको टोली नेपालगञ्ज फर्किएको पौडेलले बताए ।

‘छाडा पशुचौपाया व्यवस्थापनका लागि दैलेखको श्रीस्थान लैजाने भनेर लिइएको हो, बीचमै गाईगोरु मरेपछि स्थानीयले थाहा पाए विरोध गर्लान् भन्ने सोचेर हाम्रो यहाँको टोली बाटोमै छोडेर फर्किएको रहेछ,’ उनले भने । बाटोमा अरू कसैले गाईगोरु कसैले पाल्न चाहे दिने नत्र दैलेख लैजाने गरी नेपालगञ्जबाट लगिएको पौडेलले जानकारी दिए । ‘काञ्जी हाउसमा धेरै भएका गाईगोरु दैलेख, सुर्खेत, जाजरकोटलगायत पहाडमा पाल्न दिने गरेका छौं,’ उनले भने, ‘यसपटक पनि सुर्खेत उपत्यकाभन्दा माथि कसैले पाल्न चाहेमा दिने र दैलेख पुर्‍याउने भनेर लिइएको हो, के सोचर हाम्रो टोली फर्कियो, थाहा भएन।’ जंगलमा छोडिएकामध्ये बाँचेका गाईहरुलाई नेपालगञ्ज फिर्ता ल्याउने विषयमा छलफल भइरहेको पौडेलले जानकारी दिए ।

नेपालगञ्ज उपमहानगरपालिकामा राष्ट्रिय प्रजातन्त्र पार्टीका धवलसमशेर राणा मेयर छन् । हिन्दुवादी राप्रपाले आफ्नो चुनाव चिन्ह र झन्डामै गाईको तस्बिर राखेको छ । उनै राणाको उपमहानगरबाट लिइएका गाईलाई किन निर्मम तरिकाले भीरमा फालियो ।

सेतोपाटीसँग कुरा गर्दै राणाले घटनाबारे आफूलाई केही जानकारी नभएको बताए । ‘म काठमाडौं छु । गाई किन बीचमै छोडियो र भीरबाट फालियो भन्नेबारे मलाई जानकारी छैन,’ मेयर राणाले भने ।

भीरमा फालिएका गाईगोरुलाई वीरेन्द्रनगर नगरपालिकाले उद्धार गरेको छ । नगरपालिकाका बरिष्ठ अधिकृत प्रकाश पौडेलले दिएको जानकारीअनुसार ती ट्रकले सुब्बाकुनाको प्रहरी चेक पोष्ट नपुग्दै ११ वटा गाई गोरु खसालेका थिए । ‘त्यहाँ खसालेका मध्ये ८ वटा मरिसकेका छन् । मरेका चौपायाको भोलि व्यवस्थापन गर्छौं,’ पौडेलले भने ।

पशुपंक्षीसम्बन्धी कसुरअन्तर्गत कसैले गाई वा गोरु मार्ने वा कुनै चोट पुर्‍याउने नियतले कार्य गरे तीन वर्षसम्म कैद हुने कानुन छ । यस्तै गाई वा गोरुलाई अंगभंग बनाएमा ६ महिना कैद र अन्य चोट पुर्‍याएमा ५० हजार रुपैयाँ जरिवानाको व्यवस्था ऐनमा छ ।

सेतोपाटी बाट