सार्वजनिक रुपमा बोल्न नपाउने गरी रवि लामिछाने रिहा
काठमाडौं, चितवन जिल्ला अदालतबाट पाँच लाख धरौटीमा रिहा गरिएका रवि लामिमछानेलाई सार्वजनिक रुपमा बोल्न नपाउने शर्त पनि राखिएको छ । उनलाई यस विषयमा टेलिभिजन कार्यक्रम चलाउन र सामाजिक सञ्जालमा आफ्ना विचार तथा मत दिन पनि रोक लगाइएको छ ।
शालिकराम पुडासैनीको आत्महत्या दुरुत्साहनको कसुरमा पक्राउ परेका रवि लामिछाने १२ दिनपछि रिहा भएका हुन् । सोमवार चितवन जिल्ला अदालतमा थुनछेक बहसपछि उनलाई न्यायाधिश हेमन्त रावलको इजलासले पाँच लाख धरौटीमा रिहा गर्न आदेश दिएको हो ।
त्यसैगरी अदालतले उनीसँगै पक्राउ परेका युवराज कँडेललाई तीन लाख धरौटीमा रिहा गर्न आदेश दिएको छ भने नर्स अस्मिता भन्ने रुकु कार्कीलाई भने साधारण तारेखमा रिहा गर्न आदेश दिएको छ ।
अदालतबाट रिहा भए पनि लामिछानेले अब यसबारे सार्वजनिक रुपमा बोल्न नपाउने भएका छन् । अदालतले रवि र युवराजलाई यो मुद्दाबारे सार्वजनिक रुपमा बोल्न समेत रोक लगाएको हो ।
मुद्दाको अन्तिम टुंगो नलागेसम्म मुद्दाका अनुसन्धानमा संलग्न प्रहरी, अभियुक्त, वकिल, मुद्दाका पक्षहरुसँग टेलिभिजन कार्यक्रम चलाउन, फेसबुक लाइभ, ट्वीटर लगायतमा विचार र प्रतिक्रिया दिन रोक लगाइएको छ ।
लामिछाने सञ्चालक रहेको ‘सिधा कुरा जनतासँग’ कार्यक्रमका पूर्व पत्रकार पत्रकार पुडासैनी २० साउनमा चितवनको एक होटलमा झुण्डिएको अवस्थामा भेटिएका थिए ।
आत्महत्या गर्नुपूर्व उनले लामिछाने, कँडेल र कार्कीका कारण आफू मर्न बाध्य भएको भन्दै आफ्नो मोबाइलमा रेकर्ड गराएको भिडियो भेटिएको थियो । सोही भिडियोमा मुछिए अनुसार रवि, युवराज र अस्मितालाई प्रहरीले ३० साउनमा पक्राउ गरेको थियो ।