अब नेकपा कार्यकर्ताले सार्वजनिक रुपमा आलोचना गर्न नपाउने
काठमाडौं, नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का कार्यकर्ताले पार्टीका सदस्यको सार्वजनिक आलोचना गर्न नपाउने भएका छन्।
पार्टी मुख्यालय धुम्बाराहीका सोमबार बसेको सचिवालय बैठकले सदस्यहरुले आफ्ना कुरा पार्टीभित्र मात्रै उठाउनुपर्ने निर्णय गरेको हो।
‘हाम्रो पार्टीको नेता, कार्यकर्ता वा अन्य सदस्यहरुको बारेमा पार्टीको केन्द्रदेखि तलसम्मका कुनै सदस्यहरुले कुनै कुरा व्यक्तिगत रुपमा उठाउनुपरेमा त्यसलाई पार्टीभित्र तथ्यसंगत ढंगले आफूलाई लागेका कुराहरु उठाउनुपर्ने छ’, बैठकको निर्णय सुनाउँदै प्रवक्ता नारायणकाजी श्रेष्ठले भने, ‘पार्टीभित्र छलफलको विषय बनाउनुपर्ने छ।’
उनका अनुसार, पार्टीभित्र कुरा नराखी सार्वजनिक रुपमा लगिएमा स्पष्टीकरणको प्रक्रिया अगाडि बढाउँदै आवश्यक कारबाही गरिनेछ।
चार जना थपिएपछि नेकपा केन्द्रीय समिति सदस्य ४४५
बैठकले चार जनालाई केन्द्रीय सदस्यमा मनोनीत गरेको छ। यससँगै नेकपाको केन्द्रीय सदस्यको आकार ४ सय ४५ भएको छ।
‘प्रचण्ड’को अध्यक्षतामा बसेको नेकपा सचिवालय बैठकले तत्कालीन नयाँ शक्ति नेपालबाट आएका देवेन्द्र पराजुली र कल्पना धमलालाई केन्द्रिय सदस्यमा मनोनयन गरेको हो ।
यस्तै, विप्लव नेतृत्वको प्रतिबन्धित नेकपाबाट आएका पदम राई र किरण राईलाई समेत पार्टी केन्द्रिय सदस्यमा मनोनयन गरिएको हो ।
नयाँ शक्ति र विप्लव नेतृत्वको नेकपाबाट आएका चारै जना नेता पूर्वमाओवादी पार्टीमै रहेका थिए । धमला र पराजुली डा. बाबुराम भट्टराईसँगै नयाँ शक्ति नेपालमा लागेका थिए भने, राईद्वय मोहन बैद्य ‘किरण’ हुँदै विप्लव नेतृत्वको नेकपामा थिए ।
यी हुन सोमबार थपिएका केन्द्रीय सदस्यहरुः
देवेन्द्र पराजुली
कल्पना धमला
पदम राई
किरण राई