जन्मथलोले मुख्यमन्त्रीलाई दिएको सन्देश

यात्रा डायरी

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र शाहीलाई भेट्नासाथ कालीकोट फुकोटकी अविसरा न्यौपानेले आफूलाई सम्हाल्न सकिनन् । शाहीलाई अंगालोमा बेरेर भक्कानिन थालिन् । विलौना गरिन । दुखका अतिसय गाँठा फुकाइन् । बुढ्यौली, रोग, आर्थिक अभाव, सामाजिक सुरक्षाजस्ता विषयमा अश्रुधारा बगाउँदै गुनासो गरिन् ।

शहिद पुष्पराज न्यौपानेकी आमा मुख्यमन्त्री महेन्द्र बहादुर शाहीलाई भेटेपछि भावुक मुद्रामा

मानौं उनी यसै दिनको प्रतिक्षामा थिइन् । हुन पनि मुख्यमन्त्री भएपछि पहिलो पटक आफ्नो जन्मभूमि टेकेका मुख्यमन्त्री शाहीको आगमन गाउँलेका लागि १२ वर्षपछि बनबास सकेर फर्किएका भगवान रामको जस्तै थियो ।
अविसराले महेन्द्र शाहीमा माओवादी जनयुद्धमा गुमाएको छोरा पुष्पराज न्यौपानेको छायाँ देखेकी थिइन् । संयोग कस्तो भने उनीहरु अत्यन्तै मिल्ने साथी थिए । बुढेसकालमा टेक्ने लौरो मानिएको छोरो गुमाएपछि लौरोविहीन अविसराका लागि महेन्द्र नै अर्का छोरा थिए । ६ महिनामा अभिभावक गुमाएका महेन्द्र शाही पनि मातृ वात्सल्यबाट यसरी पग्लिए कि आफूलाई सम्हाल्न सकेनन् ।

धेरै समयपछि भेट भएका आमा, छोराको कहानी हिन्दी सिनेमाको भावुक सिनजस्तै लाग्थ्यो । अविसराजस्तै धेरै आमाहरुका कोखको घाउ रित्तिएपछि महेन्द्र शाही मुख्यमन्त्री भएका हुन् । त्यसैले उनीप्रति सम्पूर्ण कर्णालीबासीको धेरै अपेक्षा छ । शाहीले यो सत्य राम्रैसंग आत्मसात् गरेका छन् ।

धेरै समयदेखि जकडिएको समस्या ‘छू मन्तर’मा खोजिने जन दबाब सम्पूर्ण जनप्रतिनिधिका लागि चुनौती बनेको छ । मुख्यमन्त्री शाही पनि यही अग्नि परीक्षामा छन् ।

सत्य कथा यतिमै सकिदैन् । सहिद परिवारका आफ्नै अपेक्षा छन् । अपेक्षा पूरा नभएकोमा गुनासो छ । नेताहरुले राजनीतिक परिवर्तनका लागि सिंढी बनाएको तर तला उक्लिएपछि सिंढी बिर्सिएको आरोप छ ।

घरैपिच्छे जस्तो बलिदानी भएपछि मुलुकमा राजनीतिक परिवर्तन भएको हो । यो सत्य घाँटीघाँटीसम्म बुझेका मुख्यमन्त्री शाही आफ्नो गाउँ टेक्नासाथ नोस्टाल्जिक भए । मुख्यमन्त्रीको अदबले भन्दा पनि त्यो गाउँको सदस्य भएको विगतलाई उनले वर्तमानमा ल्याए ।

सबैलाई साइनो अनुसार सम्बोधन गरे । साथीभाइ भेटे । कतै आँसु त कतै हाँसोका दृश्य देखिए । घण्टौंको चुनौतीपूर्ण अक्करे यात्रालाई उनले सहज स्वीकारेका थिए ।

फुकोटबाट मात्रै २४ जनाले सहादत प्राप्त गरेका थिए । सहिद परिवारको सम्मानका खातिर मुख्यमन्त्री शाही घरगाउँ पुगेका थिए । जसरी सहिद परिवारका सदस्यले आफ्नो कथा व्यथा पोखेर मन हलुका पारेका थिए । आफ्ना घर गाउँले भेटेपछि मुख्यमन्त्री शाहीले पनि कपासजस्तै मन फुरुङ्ग बनाएका थिए ।

सहिद परिवारले सहिद, रगत र उनीहरुका परिवारको इज्जत नभएकोमा थुप्रै गुनासा राखे । यद्यपि आफ्नो घरगाउँको छोरा, चेलो, भाइ, भतिजो त्यति ठूलो ठाउँमा पुगेको भन्दै गर्व गरे । राम्रो काम गर्न आशिष दिए । सम्झिएर गाउँ आएकोमा धन्यवाद दिए ।