चिकित्सा शिक्षा सुधारका लागी बिप्लवपुत्र प्रकाशले गरे आन्दोलनको घोषणा

काठमाडौँ, नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’का छोरा प्रकाश चन्दले चिकित्सा शिक्षा सुधारका लागि भन्दै आन्दोलनको घोषणा गरेका छन् ।बिहिवार राजधानीमा एक पत्रकार सम्मेलनको आयोजना गर्दै उनले आन्दोलनको घोषणा गरेका हुन् । चिकित्सा शिक्षा संघर्ष समितिको ब्यानरमुनी बसेर चन्दले चिकित्सा शिक्षामा अनियमितता र माफियातन्त्र मौलाएर जथाभावी शुल्क असुल्ने तर श्रमिकहरुमाथि शोषण गर्ने गरेको भन्दै चिकित्सा शिक्षा संघर्ष समितिको अध्यक्षको हैसियतले आन्दोलनको घोषणा गरेका छन् ।

चिकित्सकको पारिश्रमिक वृद्धिदेखि शिक्षाका नाममा जथाभावी लिइएको शुल्क फिर्ता गर्नुपर्ने माग राख्दै समितिले आन्दोलनको घोषणा गरेको हो । समितिले भर्नाको हकमा पुनरावलोकन तथा कार्यान्वयन गरिनुपर्ने, विभिन्न विषयमा सरकारले तोकेको शुल्कको आधारसहित प्रष्ट पार्नुपर्ने, स्वास्थ्यकर्मीको उचित तलब, सुरक्षा र अन्य सुविधाको व्यवस्था गरिनुपर्ने, पाठ्यक्रम परिमार्जन गरी प्रविधिमैत्री, गुणस्तरीय र विद्यार्थीलाई पठनपाठनको वातावरण बनाउनुपर्ने, मेडिकल कलेजलाई सरकारले सहुलियतता प्रदान गरी मेडिकल कलेजले आम नागरिक र विद्यार्थीलाई सोही अनुसार सुविधा गर्नुपर्ने माग अघि सारेको छ । माग पूरा नभए कडा कदम चाल्न वाध्य हुने चेतावनी समेत समितिले दिएको छ ।

पत्रकार सम्मेलनमा बोल्दै चन्दले सरकारले चिकित्सा शिक्षाको शुल्क बढाएकोमा आपत्ति जनाउँदै चित्तबुझ्दो कारणसहित जवाफ दिनुपर्ने माग गरेका छन् । उनले भने,‘सरकारले किन शुल्कवृद्धि गरेको हो, त्यसको जवाफ दिनुपर्छ ।’ उनले मागहरु पूरा नभएसम्म आन्दोलनले अझ कडा रुप लिने चेतावनी दिए ।

चन्दले मेडिकल शिक्षामा भ्रमहरु फैलाइएको बताए । चिकित्सकको पारिश्रमिक बढाउनुपर्ने भन्दै नेपाली समाजमा डक्टरहरु लुट्ने हुन् भन्ने जस्तो भ्रम फैलाइएको तर्फ गम्भीर हुनुपर्ने बताए । उनले भने,‘सरकार बजार भाउ बढाउने तर डक्टरको तलब नतोक्ने गतिविधि गरिरहेको छ ।’ एमबिबिएस पढ्ने डाक्टर र प्राविमा कार्यरत शिक्षकको तलब एउटै रहेको हुँदा यसमा पनि सरकारको ध्यान केन्द्रित हुनुपर्ने उनको भनाइ छ ।

त्यसैगरी चन्दले काठमाडौं विश्वविद्यालय र त्रिभुवन विश्वविद्यालयको पाठ्यक्रम समान बनाइनुपर्ने माग गरेका छन् । त्रिविको कोर्ष लामो भएको हुँदा यसलाई छोट्याउन सरकारले विचार गर्नुपर्नेमा उनले जोड दिए । सरकारले एकोहोरो नियम बनाएको हुँदा मेडिकल कलेज मारमा परेको र सरकारले मेडिकल कलेजले तिर्नुपर्ने करमा केही सहुलियत दिएमा विद्यार्थीहरुलाई नै सहज हुने उनको मत छ । यसमा सरकार र मेडिकल कलेजको समझदारी हुनुपर्ने र लोकसेवा आयोगमा उचित व्यवस्था हुनुपर्नेमा चन्दले जोड दिए ।

राष्ट्रिय चिकित्साशास्त्रका संयोजक चन्दनरमण अधिकारीले आन्दोलन सफल बनाउनुपर्ने बताए । विद्यार्थीले गरेका हरेक आन्दोलनका कार्यक्रमले यो क्षेत्रमा राम्रो काम गदै आएको र कुनै पनि चिकित्सालाई अगाडि बढाउनका लागि सबै एकजुट भएर आन्दोलन सफल पार्ने तर यसमा माफियाहरुको शक्ति भएकाले दबाउन खोजेको उनको भनाइ छ । डाक्टरको सेवासुविधा वृद्धि हुनुपर्नेमा अधिकारीको जोड दिए । ईन्ट्रान्सवाट आउने प्रतिस्पर्धी विद्यार्थीहरुका लागि ल्यावमा आवश्यक सामग्री छ छैन भनेर सधै डिनको अफिसरलाई गुहार्ने गरेको खुलाए ।

नेपाल डेन्टल एसोसिएसनका चिकित्सक दिपक ठाकुरले स्वास्थ्य क्षेत्र धमिराले खाएको अवस्था रहेको भन्दै देशमा स्वास्थ्य क्षेत्र नै समाप्त हुने खतरा औल्याए । उनले सरकारले लोकसेवा मार्फत चिकित्सकको सेवा सुविधा बढाउनुपर्ने माग गरे ।

स्वतन्त्र विद्यार्थी संगठनका अध्यक्ष मिलन गैरेले विद्यार्थीलाई लुट्ने मनशायले लिएको शुल्क फिर्ता नगरे कडा कदम चाल्ने चेतावनी दिए । २०५७ सालमा भएको सम्झौता अनुसार सरकारले तोकेको भन्दा बढी शुल्क लिएमा एक महिनाभित्र फिर्ता गर्नुको साटो उल्टै ३८ देखि ४२ लाखसम्म सकिने कोर्समा ५१ लाखसम्म शुल्क लिनेर ज्यादती गरिरहेको बताए । विद्यार्थीको हितका लागि आन्दोलनका क्रममा त्रिभुवन विश्वविद्यालयको उपकुलपति कार्यालय बन्द गर्दै आएको पनि उनले स्मरण गराए ।

गण्डकी मेडिकल कलेजका विद्यार्थी अनिल सिहंले अहिले सम्म ५१ चरणमा आन्दोलन गरिसकेको बताए । उनले विद्यार्थीबाट लिइएको अतिक्ति रकम एक महिनाभित्र फिर्ता गर्नुपर्ने, रकमको कारोबारमा विल र भौचर हुनुपर्ने र यसमा भएका विकृति विसंगतीको अन्त्य हुनुपर्ने धारणा राखे । चिकित्सा अध्ययनलाई चुस्त, दुरुस्त, गुणस्तरीयता र मर्यादित बनाउन आम विद्यार्थीहरु लागि परेको उनले बताए ।

त्यसैगरी, चितवन मेडिकल कलेजका डक्टर हेमराज भण्डारीले सेवा नै धर्म भएको तर सेवा जस्तो क्षेत्रलाई कमाई खाने भाँडो बनाइएको टिप्पणी गरे । पारिश्रमीकमा शोषण, पैसा बढी लिएर कलेजले ठग्ने हुँदा विद्यार्थीको मात्र नभएर आम नेपालीको समस्या भएको बताउदै उनले कलेज संचालन गरे अनुसार विद्यार्थीलाई सेवा दिनुपर्नेमा जोड दिए । चिकित्सा क्षेत्रमा २० लाखमा हुने पढाई करडौमा पुगेको हुँदा गरिबका लागि चिकित्सा शिक्षा कल्पनाको विषय बन्नेतर्फ उनले चिन्ता जाहेर गरे ।

जानकी मेडिकल कलेजका ईन्टन डक्टर अर्विन अधिकारीले आन्दोलनमा जान वाध्य भएको बताए । देशमा डाक्टर र विरामी विचको सम्बन्ध विग्रेको अनुभुती सुनाउदै उनले ईन्टनका डाक्टरहरुलाई एउटा प्रा .वि तहको शिक्षकको जतिपनि पारिश्रमीक नभएको भन्दै कलेजले श्रम शोषण गरेको बताए ।