चिकित्सा शिक्षा सुधारका लागी बिप्लवपुत्र प्रकाशले गरे आन्दोलनको घोषणा
काठमाडौँ, नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’का छोरा प्रकाश चन्दले चिकित्सा शिक्षा सुधारका लागि भन्दै आन्दोलनको घोषणा गरेका छन् ।
बिहिवार राजधानीमा एक पत्रकार सम्मेलनको आयोजना गर्दै उनले आन्दोलनको घोषणा गरेका हुन् । चिकित्सा शिक्षा संघर्ष समितिको ब्यानरमुनी बसेर चन्दले चिकित्सा शिक्षामा अनियमितता र माफियातन्त्र मौलाएर जथाभावी शुल्क असुल्ने तर श्रमिकहरुमाथि शोषण गर्ने गरेको भन्दै चिकित्सा शिक्षा संघर्ष समितिको अध्यक्षको हैसियतले आन्दोलनको घोषणा गरेका छन् ।
चिकित्सकको पारिश्रमिक वृद्धिदेखि शिक्षाका नाममा जथाभावी लिइएको शुल्क फिर्ता गर्नुपर्ने माग राख्दै समितिले आन्दोलनको घोषणा गरेको हो । समितिले भर्नाको हकमा पुनरावलोकन तथा कार्यान्वयन गरिनुपर्ने, विभिन्न विषयमा सरकारले तोकेको शुल्कको आधारसहित प्रष्ट पार्नुपर्ने, स्वास्थ्यकर्मीको उचित तलब, सुरक्षा र अन्य सुविधाको व्यवस्था गरिनुपर्ने, पाठ्यक्रम परिमार्जन गरी प्रविधिमैत्री, गुणस्तरीय र विद्यार्थीलाई पठनपाठनको वातावरण बनाउनुपर्ने, मेडिकल कलेजलाई सरकारले सहुलियतता प्रदान गरी मेडिकल कलेजले आम नागरिक र विद्यार्थीलाई सोही अनुसार सुविधा गर्नुपर्ने माग अघि सारेको छ । माग पूरा नभए कडा कदम चाल्न वाध्य हुने चेतावनी समेत समितिले दिएको छ ।
पत्रकार सम्मेलनमा बोल्दै चन्दले सरकारले चिकित्सा शिक्षाको शुल्क बढाएकोमा आपत्ति जनाउँदै चित्तबुझ्दो कारणसहित जवाफ दिनुपर्ने माग गरेका छन् । उनले भने,‘सरकारले किन शुल्कवृद्धि गरेको हो, त्यसको जवाफ दिनुपर्छ ।’ उनले मागहरु पूरा नभएसम्म आन्दोलनले अझ कडा रुप लिने चेतावनी दिए ।
चन्दले मेडिकल शिक्षामा भ्रमहरु फैलाइएको बताए । चिकित्सकको पारिश्रमिक बढाउनुपर्ने भन्दै नेपाली समाजमा डक्टरहरु लुट्ने हुन् भन्ने जस्तो भ्रम फैलाइएको तर्फ गम्भीर हुनुपर्ने बताए । उनले भने,‘सरकार बजार भाउ बढाउने तर डक्टरको तलब नतोक्ने गतिविधि गरिरहेको छ ।’ एमबिबिएस पढ्ने डाक्टर र प्राविमा कार्यरत शिक्षकको तलब एउटै रहेको हुँदा यसमा पनि सरकारको ध्यान केन्द्रित हुनुपर्ने उनको भनाइ छ ।
त्यसैगरी चन्दले काठमाडौं विश्वविद्यालय र त्रिभुवन विश्वविद्यालयको पाठ्यक्रम समान बनाइनुपर्ने माग गरेका छन् । त्रिविको कोर्ष लामो भएको हुँदा यसलाई छोट्याउन सरकारले विचार गर्नुपर्नेमा उनले जोड दिए । सरकारले एकोहोरो नियम बनाएको हुँदा मेडिकल कलेज मारमा परेको र सरकारले मेडिकल कलेजले तिर्नुपर्ने करमा केही सहुलियत दिएमा विद्यार्थीहरुलाई नै सहज हुने उनको मत छ । यसमा सरकार र मेडिकल कलेजको समझदारी हुनुपर्ने र लोकसेवा आयोगमा उचित व्यवस्था हुनुपर्नेमा चन्दले जोड दिए ।
राष्ट्रिय चिकित्साशास्त्रका संयोजक चन्दनरमण अधिकारीले आन्दोलन सफल बनाउनुपर्ने बताए । विद्यार्थीले गरेका हरेक आन्दोलनका कार्यक्रमले यो क्षेत्रमा राम्रो काम गदै आएको र कुनै पनि चिकित्सालाई अगाडि बढाउनका लागि सबै एकजुट भएर आन्दोलन सफल पार्ने तर यसमा माफियाहरुको शक्ति भएकाले दबाउन खोजेको उनको भनाइ छ । डाक्टरको सेवासुविधा वृद्धि हुनुपर्नेमा अधिकारीको जोड दिए । ईन्ट्रान्सवाट आउने प्रतिस्पर्धी विद्यार्थीहरुका लागि ल्यावमा आवश्यक सामग्री छ छैन भनेर सधै डिनको अफिसरलाई गुहार्ने गरेको खुलाए ।
नेपाल डेन्टल एसोसिएसनका चिकित्सक दिपक ठाकुरले स्वास्थ्य क्षेत्र धमिराले खाएको अवस्था रहेको भन्दै देशमा स्वास्थ्य क्षेत्र नै समाप्त हुने खतरा औल्याए । उनले सरकारले लोकसेवा मार्फत चिकित्सकको सेवा सुविधा बढाउनुपर्ने माग गरे ।
स्वतन्त्र विद्यार्थी संगठनका अध्यक्ष मिलन गैरेले विद्यार्थीलाई लुट्ने मनशायले लिएको शुल्क फिर्ता नगरे कडा कदम चाल्ने चेतावनी दिए । २०५७ सालमा भएको सम्झौता अनुसार सरकारले तोकेको भन्दा बढी शुल्क लिएमा एक महिनाभित्र फिर्ता गर्नुको साटो उल्टै ३८ देखि ४२ लाखसम्म सकिने कोर्समा ५१ लाखसम्म शुल्क लिनेर ज्यादती गरिरहेको बताए । विद्यार्थीको हितका लागि आन्दोलनका क्रममा त्रिभुवन विश्वविद्यालयको उपकुलपति कार्यालय बन्द गर्दै आएको पनि उनले स्मरण गराए ।
गण्डकी मेडिकल कलेजका विद्यार्थी अनिल सिहंले अहिले सम्म ५१ चरणमा आन्दोलन गरिसकेको बताए । उनले विद्यार्थीबाट लिइएको अतिक्ति रकम एक महिनाभित्र फिर्ता गर्नुपर्ने, रकमको कारोबारमा विल र भौचर हुनुपर्ने र यसमा भएका विकृति विसंगतीको अन्त्य हुनुपर्ने धारणा राखे । चिकित्सा अध्ययनलाई चुस्त, दुरुस्त, गुणस्तरीयता र मर्यादित बनाउन आम विद्यार्थीहरु लागि परेको उनले बताए ।
त्यसैगरी, चितवन मेडिकल कलेजका डक्टर हेमराज भण्डारीले सेवा नै धर्म भएको तर सेवा जस्तो क्षेत्रलाई कमाई खाने भाँडो बनाइएको टिप्पणी गरे । पारिश्रमीकमा शोषण, पैसा बढी लिएर कलेजले ठग्ने हुँदा विद्यार्थीको मात्र नभएर आम नेपालीको समस्या भएको बताउदै उनले कलेज संचालन गरे अनुसार विद्यार्थीलाई सेवा दिनुपर्नेमा जोड दिए । चिकित्सा क्षेत्रमा २० लाखमा हुने पढाई करडौमा पुगेको हुँदा गरिबका लागि चिकित्सा शिक्षा कल्पनाको विषय बन्नेतर्फ उनले चिन्ता जाहेर गरे ।
जानकी मेडिकल कलेजका ईन्टन डक्टर अर्विन अधिकारीले आन्दोलनमा जान वाध्य भएको बताए । देशमा डाक्टर र विरामी विचको सम्बन्ध विग्रेको अनुभुती सुनाउदै उनले ईन्टनका डाक्टरहरुलाई एउटा प्रा .वि तहको शिक्षकको जतिपनि पारिश्रमीक नभएको भन्दै कलेजले श्रम शोषण गरेको बताए ।

