भारतका पूर्व–गृहमन्त्री चिदम्बरम पक्राउ

एजेन्सी, भारतका पूर्व गृहमन्त्री पी. चिदम्बरमलाई त्यहाँको केन्द्रीय अनुसन्धान व्युरो सीबीआईले गिरफ्तार गरेको छ । सीबीआईले चिदम्बरमलाई उनको घरबाटै हिरासतमा लिएको थियो ।

चिदमम्बरमलाई पक्राउ गरेपछि सीबीआई मुख्यालय लगिएको थियो । त्यसपछि सीबीआईले चिदम्बरमलाई आधिकारिक हिसाबमा गिरफ्तार गर्यो ।

उनीमाथि सम्पत्ति शुद्धीकरणको विषयमा अनुसन्धान भइरहेको छ। उनले अग्रिम धरौटीमा छुट्न पाउनुपर्ने यो माग गरी दिल्ली उच्च अदालतमा अनुरोध गरेका थिए। अदालतले उनको माग अस्वीकार गरेको थियो। त्यसलगत्तै उनी फरार भएका थिए।

उनलाई पक्राउ गर्न सीबीआईको टोली बुधवार तीनपटक उनको घरमा पुगेको थियो। त्यहाँ उनी थिएनन्। प्रहरीले चिदम्बरमका विरुद्ध सूचना जारी गरेको थियो। उनलाई स्थल, जल, हवाई मार्गमा रोक्न भनिएको थियो। उनलाई अनुमतिविना देशबाहिर जान रोक्न सबैलाई अनुरोध गरिएको थियो।

चिदम्बरमलाई उनको ठेगानामा फेला पार्न नसकेपछि यस्तो अनुरोध गर्नुपरेको अनुसन्धानमा खटिएका सुरक्षाकर्मीले जानकारी दिएका थिए।

चिदम्बरमका पुत्र कार्ति चिदम्बरमले उक्त अवैध रकमबाट स्पेनमा टेनिस क्लब र बेलायतमा घर क्निनुका साथै विभिन्न ठाउँमा सम्पत्ति खरिद गरेको खुलासा भएको थियो। यसै विषयमा उनलाई थप सोधपुछ गर्न हिरासतमा लिनु परेको हो।

साँझ एक्कासि कंग्रेसको पार्टी कार्यालय पुगेर आफूलाई भाजपा सरकारले फसाउन खोजेको भन्दै सञ्चारकर्मीलाई भेटेका थिए। त्यसलगत्तै उनी घर फर्किएका थिए। सीबीआईको टोली राति घरमा पुगेको थियो। झ्यालढोका सबै बन्द गरिएपछि सीबीआईको टोली बल प्रयोग गरी घरभित्र प्रवेश गरेको थियो र नियन्त्रणमा लिएको थियो।

सरकारले आफ्ना नेतामाथि अनुसन्धान गर्न खोजेपछि कंग्रेसका पूर्वअध्यक्ष राहुल गान्धी तथा महासचिव प्रियंका गान्धीले विरोध गरेका छन्।

भारतीय जनता पार्टीको सरकारले राजनीतिक प्रतिशोध लिन चिदम्बरममाथि आरोप लगाएका छन्। आफ्नो पोल खुल्ने डरले केन्द्र सरकारले उनलाई फसाउन खोजेको उनीहरूको भनाइ छ। अर्का नेता शशि थरुरले पनि मोदी सरकारले चिदम्बरमलाई तर्साउन खोजेको आरोप लगाएका छन्।