पूर्वयुवराज पारसमाथि छानबिन हुने

काठमडौं । पूर्वयुवराज पारस शाहले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यरत सुरक्षाकर्मीमाथि गरेको दुव्र्यवहारबारे प्रहरीले छानबिन थालेको छ ।

पारसले आइतबार साँझ विमानस्थलको भीआईपी कक्षको सुरक्षामा खटिएका प्रहरी नायब निरीक्षक (सई) ईश्वर खत्रीलाई सार्वजनिकस्थलमै हातपात गरेका थिए ।

महानगरीय प्रहरी आयुक्तको कार्यालय, रानीपोखरीका प्रमुख डीआईजी शैलेश थापा क्षत्रीले घटनाबारे छानविन गर्न विमानस्थल प्रहरीलाई निर्देशन दिएको जानकारी दिए ।

डीआईजी क्षत्रीले भने, ‘विमानस्थल प्रहरीलाई घटनाबारे भएको के हो विवरण चाहियो भनेर भनेको छु । विमानस्थल प्रहरीले रिपोर्ट दिएपछि के गर्ने भन्ने निर्णय हुन्छ ।’

आफ्ना छोरा र भाञ्जामाथि प्रहरीले ‘अपमान’ गरेको भन्दै पारसले सई खत्रीलाई छातीमा समातेर धकलेको भिडियो सार्वजनिक भएपछि मिडियामा समाचारहरु आएका थिए ।

भिडियोमा देखिएको दृश्य हेर्दा पनि पूर्वयुवराज पारस फर्की–फर्की सई खत्रीमाथि झम्टिएको देखिएको छ । सामाजिक सञ्जालमा जनताको सुरक्षाका लागि खटिएका सुरक्षाकर्मीमाथिको दुव्र्यवहार गर्ने पूर्वयुवराज पारसलाई कारबाही गर्न माग गरिएको छ ।

आमा कोमल शाह र छोराछोरीलाई थाइल्यान्ड जान लागेको समयमा बिदाई गर्न पारस विमानस्थल पुगेका थिए । पुर्व राजा ज्ञानेन्द्र शाह २ साताअघि मात्रै थाइल्याण्ड गएका थिए भने हिमानी शाह पनि थाइल्याण्डमै रहेकी छिन् ।राताेपाटीबाट