सहकारीहरू ब्याज केन्द्रित हुनुहुदैन – मन्त्री पौडेल
नेपालगञ्ज,बाँके प्रदेश नम्बर ५ की भुमि व्यवस्था सहकारी तथा कृषि मन्त्री आरती पौडेलले सहकारीहरु ब्याज केन्द्रित नहुनु पर्ने बताएकी छन । मन्न्त्री पाैडेलले विपन्नदेखि सामान्य जनताको आर्थिक अवस्था सुधारका लागि विभिन्न कामहरु गर्दै आएको सहकारी गरिबमुखी हुनु पर्ने बताएकी हुन् ।
माता बागेश्वरी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको नवौं वार्षिक साधारणसभाको शनिवार नेपालगञ्जमा उदघाटन गर्दै मन्त्री पौडेलले सहकारीहरुले सस्तो व्याजमा पैसा किन्ने र मंहगो व्याज तिरेर बेच्ने काम मात्र गर्न नहुने कुरामा जोड दिइन् ।
उनले भनिन्, ‘प्रदेश सरकारले सहकारीहरुसँग मिलेर गरिवी निवारणका कार्यक्रम सञ्चालन गरि समृद्ध नेपाल बनाउने अभियान शुरु गरेको छ । सरकारको समृद्ध नेपाल र सुखी नेपालीको अभियानमा पनि सहकारीहरुको भूमिका अहम छ ।’ सो कार्यक्रममा बोल्दै सहकारी संघ प्रदेश नम्बर ५ का अध्यक्ष प्रेम सुवेदीले सहकारीले जनताको आर्थिक अवस्था सुधारका लागि गरेको काम उल्लेखनीय रहेको बताए । उनले सहकारीले हजारौंलाई रोजगारी समेत दिईरहेको बताए ।
माता बागेश्वरी बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष रशिद अहमद कुरैशीले आफ्नो सहकारीले नेपालगन्जमा उत्कृष्ट काम गरिरहेकोले बर्सेनी बचत संकलन र ऋण लगानी बढ्दै गएको बताए ।
साधारणसभाको अवसरमा बर्षका उत्कृष्ठ कर्मचारी एलिना थापा, उत्कृष्ठ बचतकर्ता फिरोज अन्सारी, उत्कृष्ठ ऋणी भिम कुमारी खत्री, उत्कृष्ठ बालबचत कर्ता डेढ बर्षिय सेजन काफ्ले, उत्कृष्ठ बजार प्रतिनिधी नसिर खान र ओम कुमारी चौधरीलाई पुरस्कृत गरिएको थियो ।
उदघाटन कार्यक्रममा सहकारी संघ प्रदेश नम्बर ५ का अध्यक्ष प्रेम सुवेदी, बचत तथा ऋण सहकारी संघ बाँकेका अध्यक्ष प्रकाश ज्ञवाली, राष्टिय सहकारी संघका संचालक विजया धिताल, युवा स्वरोजगार कार्यक्रमका नितेश शर्मा, साना उद्योग संघ नेपालगञ्जका अध्यक्ष रचना श्रेष्ठ, महेन्द्र बहुमुखि क्याम्पसका प्रमुख गणेश रेग्मी, पत्रकार महासंघ बाँकेका अध्यक्ष ठाकुरसिंह थारु र माता बागेश्वरीका उपाध्यक्ष अम्बिका शाहले शुभकामना मन्तव्य राखेका थिए ।