यसरी मनाईयो सामाजिक सद्भावको पर्व ‘बकर इद’

नेपालगन्ज,नेपाली मुस्लीमहरुले सोमबार आफ्नो ठुलो तथा महत्वपूर्ण पर्व बकर इद धुमधामले मनाएका छन । सद्भावको पर्वका रुपमा समेत ब्याख्या गरिने बकर ईद मनाउन सोमबार बाँकेका मुस्लीमहरु नेपालगन्जमा भेला भएका थिए ।

नेपाल सरकारका शहरी विकास मन्त्री मोहम्मद ईस्तियाक राईको उपस्थितीमा हजारौं मुस्लीमहरुले सामुहिक नवाज पढेका थिए । ईदको शुभकामना दिदै मन्त्री राईले यस्ता पर्वले नेपाली समाजलाई एकताको सुत्रमा बाँध्न सहयोग पुग्ने बताए । बाँकेको धार्मिक सहिष्णुता नेपालमा मात्र नभई बिश्व मै उदाहरणीय भएको बताउँदै मन्त्री राइले धार्मिक सहिष्णुता र सद्भावको कामना समेत गरेका छन् ।

नेपालगञ्जका बिभिन्न मस्जिदमा भेला भएर मुस्लिम समुदायले भव्यतापूर्वक इद मनाइरहेका छन् । ईदका अवसरमा एकअर्काप्रति अंकमाल गर्दै शुभकामना साटासाट गरेका छन् । मुस्लिम समुदायका साथै अन्य समुदायका ब्यक्तिहरुले समेत एक अर्कालाई अंकमाल गरी ईदको शुभकामना आदान प्रदान गरेका थिए । बाँकेका अलावा आज देशैभर ईद मनाईदैछ ।

हज र कुर्बानी गर्नुपर्ने प्रमुख विशेषता रहेको यस पर्वमा हैसियत हुने मुसलमानका लागि हज र कुुुर्बानी अनिवार्य रहेको छ । यो पर्व मुस्लिम समुदाय तीन दिनसम्म धुमधामसँग मनाउँछन् ।

मुस्लिमहरुले खान योग्य मानिने खसी, भेडा, ऊँट लगायतका जनावरहरुको कुर्बानी उपयुक्त मानिन्छ । हाँस, कुखुरा र अन्य स साना पक्षी कुर्बानी दिइँदैनन्, । बकरईदमा प्रदेश ५ मा सोमबार सरकारले सार्वजनिक विदा दिएको छ ।