नियमविपरीत काम गर्ने करिब ३ सय प्रहरी जवान कारवाहीमा
सिरहा, २५ साउन । प्रदेश २ का प्रहरी संगठनमा आर्थिक लेनदेन, अनैतिक सम्बन्ध, मादक पदार्थ सवेन , संगठनको निर्देशन पालना नगर्ने, प्रहरी नियमावली विरुद्ध काम गर्ने २ सय ८० जनालाई कारवाही थालेको छ ।

प्रदेश नं.२ का प्रहरी कार्यालय जनकपुरका प्रवक्ता ज्ञानकुमार महतोले कारवाहीको प्रक्रिया अघि बढेको बताए । प्रदेश २ का डिआईजी प्रधुम्नकुमार कार्कीका अनुसार संगठनमा गल्ती गर्नेलाई कारवाही र राम्रो काम गर्नेलाई पुरस्कार गर्ने अभियान नै चलाएको बताए ।
प्रदेश २ का आठै जिल्लाबाट एक जना प्रहरी नायव उपरीक्षक, चार प्रहरी निरीक्षक, १७ प्रहरी नायव निरीक्षक, ३७ प्रहरी सहायक निरीक्षक, ६३ प्रहरी हवल्दार र १ सय ५७ प्रहरी जवान जना विभागीय कारवाहीमा परेको प्रदेश प्रहरी कार्यालयले बताएको छ ।
संगठनमा शुद्धिकरण चलिरहने बताउँदै यो चालु आर्थिक वर्षमा मात्र २ सय ५९ जना राम्रो काम गर्नेलाई पुरस्कृत पनि गरिएको छ । प्रदेश २ का विभिन्न चौकी, इलाका, जिल्ला प्रहरी कार्यलयलगायतका ठाउँमा बस्दा आर्थिक चलखेल गरी घुस लिनुको साथै विभिन्न सामाजिक घटनामा संलग्न रहेकाहरुलाई आन्तरिक शुद्धिकरण गरिएको प्रदेश न २ का डिआईजी कार्कीले बताएका छन् ।
त्यसैगरि, राम्रो काम गरेबापत् एक वरिष्ठ प्रहरी उपरीक्षक, पाँच प्रहरी उपरीक्षक, ११ प्रहरी नायव निरीक्षक, २० प्रहरी निरीक्षक, ३० प्रहरी नायव निरीक्षक, ३५ प्रहरी सहायक निरिक्षक, ६२ प्रहरी हवलदार, ९३ प्रहरी जवान र दुई प्रहरी कार्यालय सहयोगीलाई पुरस्कृत गरिएको प्रवक्ता महतोले बताएका छन् ।
प्रदेश २ मा विगतभन्दा अहिले विभागीय कारवाहीमा पर्नेको संख्या कम भएको भन्दै यस वर्ष प्रहरीको आचरणविपरीत काम गर्नेलाई नसिहत, चेतावनी, निलम्बन, ग्रेड रोक्का, पदोन्नति रोक्का, दर्जा घटुवा, चालचलन सम्बन्धी प्रतिकूल राय दिनेजस्ता कारवाही भएको प्रवक्ता महतोले बताएका छन् ।

