कश्मीर विवादमा चिनको आपत्ती
एजेन्सी,पइचिङ जम्मु कश्मीरबाट धारा ३७० हटाएर लद्दाखलाई केन्द्र शासित प्रदेश बनाएपछि चीनले विरोध गरेको छ। लद्दाख केन्द्रशासित रूपमा स्वीकार्य नहुने उसको भनाइ छ।
भारतले आफ्नो आन्तरिक मामिलामा नबोल्न चीनलाई सचेत गराएको छ। अरूको आन्तरिक मामिलामा आफू पनि नबोलेको र आफ्नोमा पनि नबोल्न उसले भनेको छ।
चिनियाँ समाचार पत्र ग्लोबल टाइम्सका अनुसार चिनियाँ विदेश मन्त्रालयले भनेको छ, ‘भारत सरकारले चिनियाँ क्षेत्र आफ्नो राज्यमा सामेल गरेको छ। यसको हामी विरोध गर्छौं। भारतीय कदमबाट चीनको क्षेत्रीय अखण्डता र सम्प्रभुता उल्लंघन भएको छ। यो अस्वीकार्य छ।’ जम्मु कश्मीरको भूभाग हाल भारत, पाकिस्तान र चीनको अधीनमा छ।
चिनियाँ भनाइको भारतीय विदेश मन्त्रालयका प्रवक्ता रवीश कुमारले जम्मु कश्मीर भारतको आन्तरिक मामिला भएकाले यसबारे चीनको भनाइको अर्थ नभएको बताए।
उनले भने, ‘भारत–चीन सीमा विवादमा दुवैले निष्पक्ष, व्यावहारिक र पारस्परिक स्वीकार्य समाधान गर्ने सहमति गरिसकेका छौं।’
लद्दाखको कतिपय क्षेत्रमा भारत र चीनले आ–आफ्नो भूमि भएको दाबी गर्ने गरेका छन्।