यसरी चोरी सिकारीको पासोमा पर्यो चितुवा
जाजरकाेट, चोरीसिकारीले थापेको पासोमा परेर जाजरकोट जिल्लाको भेरी नगरपालिकामा एक चितुवाको मृत्यु भएका छ । राष्ट्रिय निकुन्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ ले संरक्षण गरेको वन्यजन्तु चितुवाको चोरीसिकारीले थापेको पासोमा परेर मृत्यु भएको हो ।
घाँटीमा लागेको पासो चुटालेर अन्तिम अबस्थामा पुगेको चितुवा भेरी नगरपालिका–८ र ९ नम्बर वडाको सिमानामा पर्ने झुप्राखोलामा सोमबार फेला परेको डिभिजन वन कार्यालय जाजरकोटले जनाएको छ । कुन ठाउँमा थापेको पासोमा परेर उक्त पासो चुटालेर चितुवा त्यहाँ आईपुगेको हो ? भन्ने बिषयमा भने, अहिलेसम्म केहि खुलेको छैन ।
घाईते चितुवा फेला परेको स्थानीयबासीले खबर गरेपछि चितुवाको उद्धार गर्न डिभिजन वन कार्यालयका कर्मचारी, जिल्ला प्रहरी कार्यालयबाट नेपाल प्रहरी, पत्रकार र वन्यजन्तु अनुसन्धानकर्ता तथा खोजकर्ताहरुको टोली झुप्राखोला पुगेको थियो ।
उद्धारमा गएको टोलीले उक्त चितुवालाई नियन्त्रणमा लिदालिदै मरिसकेको डिभिजन वन कार्यालयले जनाएकाे छ । चितुवा फेला परेको स्थान समुन्द्री सतहबाट ९ सय १७ मिटरको उचाईमा रहेको भेरी नगरपालिकाको झुप्राखोलाको तापक्रम ३३ दशमलब ६ डिग्रीसेल्सियस रहेको वन्यजन्तु तथा पन्छी अनुसन्धानकर्ता गोविन्दबहादुर सिंहले बताए ।