घुससहित दुई कर्मचारी पक्राउ
कञ्चनपुर, कैलालीको टिकापुर नगरपालिका स्थित मालपोत कार्यालयका दुई जना कर्मचारी घुसको रकमसहित पक्राउ परेका छन। आइतबार साँझ अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले सेवाग्राहीबाट घुसको रकम लिँदै गरेका बेला मालपोत कार्यालयका नायव सुव्वा सिंहबहादुर कुँवर र खरिदार नरराज पाण्डेयलाई पक्राउ गरेको हो।
स्टिङ अप्रेसन गरी दुवै जनालाई घुसको आठहजार नगदसहित पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसनधान कार्यालय कञ्चनपुरका सूचना अधिकारी टोपबहादुर बिष्टले बताए।
‘जग्गा धनी प्रमाण पत्र हराए पछि सेवाग्राही मालपोत कार्यालयमा नयाँ बनाउन गएपछि कर्मचारीले जग्गाको नाप नक्सा गरेर मात्रै पाइन्छ भनेर पैसा माग्नु भयो। फिल्डमै रकमसहित पक्राउ परे’ उनले भने। आयोग कञ्चनपुरको टोलीले दुवै जनालाई लम्की चुहा नगरपालिका ३ व्यवस्थित नगरबाट पक्राउ गरेको हो।
पक्राउ परेका दुवै जनालाई सोमवार थप अनुसन्धानका लागि काठमाडाैं लगिएको छ। आब २०७५/०७६ को असार मसान्तसम्म अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कञ्चनपुर कार्यालयले कैलाली कञ्चनपुरमा सातवटा स्टिङ अप्रेसन गरी ३१ जनालाई घुषको रकम सहित पक्राउ गरेको छ। चालु आबको यो पहिलो स्टिङ अप्रेसन हो।