जेल भित्रै दुई विरोधी समूहबीच हँगामा: ५२ जनाको मृत्यु

एजेन्सी, ब्रजिलमा जेलभित्र प्रतिद्वन्द्वी समूहहरूबीच भएको हिंसामा करिव ५२ जना मारिएको अधिकारीहरूले बताएका छन् ।

पारा प्रान्तको अल्टामिरास्थित जेलभित्रको एउटा भवनमा राखिएका बन्दीले अर्को भवनमा आक्रमण गरेको स्थानीय सञ्चारमाध्यमले जनाएको छ । १६ जनालाई घाँटी काटेर मारिएको र अन्यको जेलको एउटा भागमा आगो लगाइएपछि धुवाँमा निसासिएर मुत्यु भएको अधिकारीहरूले बताएका छन् ।

बन्दीको कब्जामा परेका दुई जेल अधिकारीहरूलाई मुक्त गरिएको छ । स्थानीय समयानुसार बिहान करिव सात बजे सुरु भएको हिंसा मध्याह्नतिर नियन्त्रणमा आएको जनाइएको छ । प्रान्तीय सरकारले विज्ञप्ति जारी गर्दै कमान्डो क्लासिया ए नामको गिरोहका सदस्यहरूले विरोधी समूह रेड कमान्डका सदस्यहरू राखिएको भवनमा आगो लगाएको जनाएको छ ।

घटनामा संलग्न समूहका नाइकेलाई सङ्घीय कारागारमा सरुवा गर्न लागिएको ब्रजिलको सञ्चारमाध्यमले जनाएको छ ।