तस्करीमा संलग्न रहेको आरोपमा कुटिए वडाध्यक्ष

जुम्ला,पातारासी गाउँपालिका–४ का वडाध्यक्ष कालीबहादुर रावतमाथि लुमगाउँका बासिन्दाले बुधबार कुटपिट गरेका छन् ।  बागजाले सामुदायिक वनको अवैध जडीबुटी चोरी निकासीमा वडाध्यक्षको संलग्नता रहेको भन्दै लुमगाउँका स्थानीयले कुटपिट गरेका हुन् । लुमगाउँका स्थानीयवासीले वडाध्यक्ष रावतमाथि हातपात गर्नु साथै अभद्र व्यवहार गरी कठालो समातेर कमिज च्यातेको आरोप छ ।

कालीबहादुर रावललगायतका स्थानीयवासीको अगुवाइमा वडाध्यक्षमाथि लुमगाउँका स्थानीयले हातपात गरेको आरोप लगाइएको छ । स्थानीयवासीले वडाध्यक्ष रावतविरुद्ध नाराबाजी गर्दै पदबाट राजीनामा दिन मागसमेत गरेका छन् । कुटपिट घटनाका आरोपित कालीबहादुर रावलले वडाध्यक्ष रावत जडीबुटी चोरी निकासीमा संलग्न रहेको जिकिर गरे ।

यता वडाध्यक्ष कालीबहादुर रावतले अवैध जडीबुटी चोरी निकासीमा आफ्नो संलग्नता नरहेको बताए ।  उनका अनुसार स्थानीय सरकारको समन्वय र सहकार्यमा सामुदायिक वनको जडीबुटी चोरी निकासी रोक्न खोज्दा कालीबहादुर रावललगायतको टोलीले हातपात गरी कुटपिट गरेका हुन् ।

हातपात गरी दुव्र्यवहार गर्दा गाउँमा बस्ने वातावरण सहज नभएका कारण सुरक्षाका लागि जिल्ला सदरमुकाम खलङ्गा बजारमा बस्दै आएको उनले बताए ।