राप्ती नदीको सतहले ‘डेन्जरजोन’ पार ग¥यो

नेपालगन्ज ,पहाडी क्षेत्रमा लगातारको वर्षाले बाँकेमा राप्ती नदीमा पानीको सतहले ‘डेन्जरजोन’ पार गरेको छ । बाँकेका प्रमुख जिल्ला अधिकारी मदन भुजेलका अनुसार दिउँसो साढे तीन बजे नदीको सतहले ‘डेन्जरजोन’ पार गर्दै सतह ५.५० पुगेको हो ।

राप्ती नदीको कुुसुमस्थित मापद केन्द्रका अनुसार ५ मिटर ४० सेन्टीमिटरलाई ‘खतरा’ मानिन्छ । प्रजिअ भुजेलका अनुसार त्यो नदीले अहिले पार गरिसकेको छ । पानीको सतह बढ्ने क्रम जारी रहेको उनले जानकारी दिए ।

जिल्ला आपतकालिन कार्य सञ्चालन केन्द्रका प्रमुख गौरी बुढाथोकीले नदीको सतह बढिरहेकाले साइरन बजाइएको जानकारी दिए । नदी मापन केन्द्र रहेको कुसुमबाट होलियासम्म पानी आउन केही घण्टा लाग्छ ।

नदीको सतह बढेसँगै तटिय क्षेत्रका बासिन्दाहरुलाई सुरक्षित रहन आग्रह गरिएको प्रमुख जिल्ला अधिकारी भुजेलले जानकारी दिए । राप्ती नदीमा पानीको सतह ५.४० मिटर पुग्दा फत्तेपुर, होलिया, बेतहनी, कम्दी, गंगापुर, नरैनापुरमा डुवान हुने गर्दछ ।

भारतले राप्ती नदीमा बनाएको लक्ष्मणपुर बाँध समयमा खोलिदिँदा डुवानको जोखिम कम हुन्छ । नदीको बाँध खोल्दा आफ्नो देशका डुवान हुने भएकाले भारतले हत्पती लक्ष्मणपुर बाँध खोलि दिदैन ।

जिल्ला आपतकालिन कक्षले उद्धार सामाग्रीसहित उद्धार टोलीलाई सतर्क अवस्थामा राखेको जानकारी दिएको छ । गाउँमा पानी पस्ने अवस्था आउने बित्तिकै उद्धार टोली गाउँमा पुगिसक्ने अधिकारीहरुले बताएका छन् ।