यसरी गृहमन्त्री थापालाई सांसदले पारे र्‍याखर्‍याख

काठमाडौँ,सर्लाहीको ईश्वरपुर नगरपालिकामा खोल्डोमा पानी जमेर बनेको पोखरीमा डुबेर ११ वर्षका बालक अमित रायको मृत्यु भयो । ढुंगागिट्टी उत्खनन् गर्दा बनेको खाल्डोमा डुबेर बालकको मृत्यु भएपछि स्थानीयले असार १५ गते विरोध प्रदर्शन गरेका थिए । त्यसमा प्रहरी दमन भएको विषयमा संसदको मंगलबारको बैठकमा सांसदले जवाफ मागे ।

गृहमन्त्री रामबहादुर थापा बादलले प्रहरीमाथि आक्रमण भएको र हवाई फायर गर्दा सरोज सिंहको मृत्यु भएको बताए । हवाई फायर गरिए पनि प्रदर्शनकारी माथि रहेकाले सिंहलाई गोली लागेको गृहमन्त्री थापाले दाबी गरे ।

उनले भने, ‘नगरपालिकाले बनाएको खाल्डो पुर्न दिइएन । त्यहि खाल्डो पोखरी बन्यो । पछि हत्या भयो भनेर प्रदर्शन भयो, प्रहरीमाथि आक्रमण भयो । त्यसलाई नियन्त्रणमा लिन अश्रु ग्यास हानिएको हो । हावाई फायर गरिएको हो । तर हवाई फायरकै गोली लागेर सरोज सिंहको मृत्यु भयो ।’

उनले अघि भने, ‘छानबिनका लागि समिति गठन भएको छ। प्रतिवेदन आउँछ । मृतकका परिवारलाई आर्थिक सहायता गरिने छ ।’

गृहमन्त्रीको जवाफमा सांसदहरुले उल्टै प्रश्न गरे । उनीहरुले मन्त्रीको जवाफ सत्यतथ्यमा आधारित नरहेको बताए ।

सांसद भरत शाहले मन्त्रीको जवाफमा प्रश्न गर्दै भने, ‘गृहमन्त्रीको जवाफ सत्यतथ्यमा आधारित छैन । छानबिनका लागि संसदीय समिति बनाउन तयार हो ?’ सांसद उमा रेग्मीले पनि मन्त्रीको जवाफ चित्त बुझ्ने खालको नरहेको बताइन् । उनले प्रश्न गरिन्, ‘संसदीय समिति छानबिन समितिमा गठन गर्ने हो कि होइन ? सत्यथ्य बाहिर आउने हो कि होइन ?’

यस्तै सांसद प्रमोद शाहले राज्यले खाल्डो खनेर सर्वसाधारणको हत्या गरेको आरोप लगाए । उनले भने, ‘कामका लागि खाल्डो खनिएको होइन । राज्यले खनेको खाल्डो किन खनियो ?’

सांसद डिला संग्रौलाले गृहमन्त्रीको जवाफ झुठको पुलिन्दा जस्तो रहेको बताइन् । सांसद मीनबहादुर विश्वकर्माले भने, ‘हत्याको छानबिन गर्न हत्यारालाई दियो भने मृतकमा नै दोषी ठहरिन्छ । सरकार उत्तरदायी भएन ।’

सांसद राजकिशोर यादवले गृहमन्त्रीको भनाइ बनीबनाउन र कर्मचारीको लेखाइ मात्र रहेको बताए । उनले भने, ‘हवाई फायरमा कसरी टाउकोमा गोली लाग्यो ? संसदमा बोल्दा पदको ख्याल गरौं ।’

सांसद पुष्पा भुसालले सरकारले अवैध खानी चलाउन दिएका कारण त्यसकै लागि खनिएको खाल्डोमा परेर नागरिकको ज्यान गएको बताइन् । उनले ‘पोखरीको नाम के हो ?’ भनेर प्रश्न गरिन् ।

सांसदहरुले आफ्नो जवाफमा प्रश्नहरुको वर्षा गरेपछि गृहमन्त्री थापाले पुनः जवाफ दिए । आफूले गृह मन्त्रालयमा प्राप्त जानकारी संसदमा बताएका भने ।

उनले भने, ‘सरकारले दिएको जानकारी सही छ कि छैन भन्ने प्रश्न उठ्यो । लोकतन्त्र र कानूनी शासनको प्रत्याभूति दिन लाग्दा भएका घटना भएको हो । जनताको जीउ धनको सुरक्षा गर्न खोज्दा भएका घटना हो सर्लाहीमा ।’