प्रधानसेनापति थापा लागे अमेरिकातर्फ
काठमाडौं–प्रधानसेनापति पूर्णचन्द्र थापा संयुक्त राष्ट्रसंघको औपचारिक निमन्त्रणामा सोमबार अमेरिका प्रस्थान गरेका छन् ।
राष्ट्रसंघको मुख्यालय न्यूयोर्कमा ब्रिटीस आर्मी फोर्सले असार २५ गतेका लागि आयोजना गरेको First Women, Peace and Security (WPS) CHODS Network Meeting र संयुक्त राष्ट्रसंघको सचिवालयले असार २६ गते आयोजना गर्ने तेस्रो Chiefs of Defence Conference मा थापाले सहभागीगिता जनाउने छन् ।
प्रधानसेनापति थापालाई बलाधिकृत रथी शरद कुमार गिरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिदाई गरेका थिए ।
औपचारिक कार्यक्रम सम्पन्न गरी प्रधानसेनापति थापा साउन १ गते स्वदेश फिर्ता हुने कार्यक्रम रहेको छ ।
यस किसिमको उच्च तहको सैनिक नेतृत्वको भ्रमणले नेपाली सेना र संयुक्त राष्ट्र संघ तथा अमेरिकी सेना बीच रहँदै आएको आपसी सौहार्दपूर्ण सम्बन्धलाई थप सुमधुर एवं प्रगाढ बनाउन मद्दत पुग्ने विश्वास नेपाली सेनाले लिएको छ ।