सुन तस्करी प्रकरणमा तानिएका न्यायाधीश सिंह बर्खास्त

काठमाडौं- ३८ सय किलो सुन तस्करी प्रकरणमा तानिएका उच्च अदालत विराटनगरका न्यायाधीश उमेश सिंहलाई सेवाबाट पदमुक्त गरिएको छ।

न्याय परिषद्का अध्यक्षसमेत रहेका प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाको अध्यक्षातामा सोमबार साँझ बसेको परिषद्को बैठकले सिंहलाई बर्खास्त गर्ने निर्णय गरेको हो।

यस्तै, उच्च अदालत विराटनगरकै न्यायाधीश थीरबहादुर कार्की र साधुराम सापकोटाको बढुवा रोक्का गर्ने निर्णय भएको छ। कार्यसम्पादन प्रक्रिया चित्तबुझ्दो नभएपछि दुई वर्षसम्मका लागि उनीहरुको बढुवा रोक्का गरिएको हो।

यसअघि न्यायाधीशद्वय कार्की र सिंहलाई गम्भीर प्रकृतिको संलग्न देखिएको भन्दै ७ दिनभित्र स्पष्टीकरण बुझाउन भनिएको थियो। सुन तस्करीको अभियोगमा मुद्दा खेपेका आरोपितलाई न्यून धरौटीमा छुटेको आरोप लागेपछि छानबिनमा रहेको अर्का न्यायाधीश सापकोटालाई भने परिषद्ले सचेत गराउँदै पत्र काटेको थियो।

यसअघि न्यायपरिषद्ले मुख्य न्यायाधीश कुलरत्न भुर्तेलसहित ५ न्यायाधीशलाई सफाइ दिएको थियो। भुर्तेल, न्यायधीशहरू सारगा सुवेदी,जनक पाण्डे, उमेशराज पौडेल र नागेन्द्र लाभ कर्णको उजुरी तामेलीमा राख्ने निर्णय भएको थियो।