हिरासतमै रहेकी महिला शौचालयमा झुन्डिएपछि….
जनकपुर- इलाका प्रहरी कार्यालय महेशवारी, सिरहाको शौचालयमा झुण्डिएको अवस्थामा एक महिलाको शव फेला परेको घटना रहस्यमय बनेको छ।
आइतबार बिहान शौचालयमा झुण्डिएको अवस्थामा सुमनदेवी ठाकुरको शव फेला परेको थियो। ति महिलालाई चोरीको मोबाइल बेच्ने क्रममा प्रहरीले पक्राउ गरेको थियो। पक्राउ परेकी महिलालाई हिरासतमा राखेको बेला शौचालयमा कसरी पुगिन् र आत्महत्या गरिन् भन्ने प्रश्न उब्जिएको छ।
प्रहरीका अनुसार एक अर्की महिला पनि बाउन्स चेकको आरोपमा पक्राउ परेकी थिइन्। उनीसँगै हिरासतमा थिइन् सुमनदेवी पनि। सप्तरीको खड्क नगरपालिका-७ घर भएकी सुमनदेवी पेट दुख्यो भन्दै शौचालय गएको र आत्महत्या गरेको प्रहरीको दाबी छ।
यदि प्रहरीको दाबी सही हो भने शौचालयमा आत्महत्या गर्ने किसिमको भेन्टिलेटर किन राखेको भन्ने प्रश्न समेत गरिएको छ। यसबारे प्रहरी मौन छ। उनको आत्महत्यालाई लिएर त्यहाँका प्रहरी अधिकारीलाई पूर्णरुपमा छुट दिन मिल्ने अवस्था नरहेको स्थानीय बताउँछन्।
महिला मृत फेला परेपछि सखुवानन्कारकट्टी गाउँपालिका अध्यक्ष केदार यादवले स्थगलगत निरीक्षण गरेका थिए। उनले घटना प्रहरीको लापरबाहीले भएको भन्दै केहिबेर प्रहरी विरुद्ध खनिएका थिए।
यता जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी उपरीक्षक उमाप्रसाद चतुर्वेदीले घटनाको वास्तविकतावारे अझै अनुशन्धान जारी रहेको बताए।