विप्लवका जिल्ला इञ्चार्जलाई नियन्त्रणमा लिएर किन हत्या गरियो ?

काठमाडौं,नेत्रविक्रम चन्द नेतृत्वको नेकपाका सर्लाहीका इञ्चार्ज कुमार पौडेलको हत्या सम्बन्धमा नेपाली कांग्रेसले संसद्‍मा सरकारको जवाफ माग गरेको छ । प्रतिनिधि सभाको सोमवार बसेको बैठकको शून्य समयमा नेपाली कांग्रेसका सांसद दिलेन्द्र बडूले पौडेललाई नियन्त्रणमा लिएपछि हत्या गरिएको भन्ने समाचारमा ब्यापक आएको भन्दै यथार्थ जानकारी माग गरेका हुन् ।

‘माननीय गृहमन्त्रीले केही समय पहिले संसद्‍मा सार्वजनिक महत्त्वको वक्तव्य दिँदै विप्लव समूहसहित हेडक्वार्टर सहित ४ वटा कम्पनी रहेको बताउनुभएको थियो । आन्दोलनरत पक्षसित कुन रूपमा समाधानको बाटो खोज्दैछ ?’ कांग्रेसले गठन गरेको छायाँ सरकारका गृहमन्त्री समेत रहेका बडूले भने, ‘विप्लव समूहलाई वार्ता र संवाद मार्फत मूल प्रवाहमा ल्याउनमा ढिलाइ भइरहेको छ ।

सर्लाही इञ्चार्ज कुमार पौडेललाई लालबन्दी जंगलमा नियन्त्रणमा लिएपछि मारिएको भन्ने आएको छ । छानबिन गरेर यथार्थ संसदमा जानकारी गराओस् ।’ यसअघि नेकपाका सांसदहरूले समेत पौडेलको हत्याबारे यथार्थ संसद्लाई जानकारी गराउन सरकारको ध्यानाकर्षण गराएका थिए ।