सुत्केरी महिलाकाे हेलिकाेप्टरमार्फत उद्धार

धनगढी, बाजुराकी एक सुत्केरी महिलाको हवाई सेवामार्फत उद्धार गरिएको छ। जिल्लाको स्वामिकार्तिक गाउँपालिका– १, मुक्तिकोटका मदन विककी २२ वर्षीया श्रीमती रजनी विकलाई मन्त्रीको पहलमा हेलिकप्टरबाट उद्धार गरिएको हो।

उनलाई यही असार ३ गते सुत्केरी व्यथा लागेपछि आफन्तहरूले स्थानीय स्वास्थ्य केन्द्रमा लगेका थिए। त्यहाँ शिशु जन्माउन नसकेपछि आज बुधबार उनलाई सुदूरपश्चिम प्रदेशका सामाजिक विकासमन्त्री कृष्णराज सुवेदीको पहलमा हेलिकोप्टरबाट कोहलपुर लगिएको छ।

मन्त्री सुवेदीको पहलमा यसअघि ६ जना सुत्केरी महिलाको हेलिकप्टरबाट उद्धार गरिसकिएको छ। सुदूरपश्चिम सरकारले सुत्केरीकाे उद्धार गर्नकै लागि भनेर निश्चित बजेट नै छुट्याएकाे छ।