एकैपटक आधा दर्जनबढी ग्यास सिलिण्डर विस्फोट
जनकपुर,एकाविहानै जनकपुर स्थित एक होटलमा आधा दर्जन भन्दा बढि ग्यास सिलिण्डर विस्फोट हुँदा ३ वटा होटेल पूर्णरुपमा नष्ट भएको छ ।
बिहीबार बिहान करिब ३ बजे ग्यास सिलिण्डर विस्फोट हुँदा जनकपुरधाम उपमहानगरपालिका-२, कदम चोकस्थित गोविन्द मिष्ठान भण्डार र अन्य २ गरी ३ वटा होटल जलेर पूर्णरुपमा नष्ट भएका प्रहरीले जनाएको छ।
होटलको भान्सामा राखिएको ग्यास सिलिण्डर विस्फोट हुँदा आगो लागेको स्थानीयवासीको भनाइ छ। ग्यास सिलिण्डर विस्फोट हुँदा ३ वटा होटलमा एकैपटक आगो लागेको थियो। आगलागीबाट भएको क्षतिबारे तत्कालै केही भन्न नसकिने प्रहरीले जनाएको छ।
होटल भित्र ९ वटा ग्यास सिलिण्डर एकैठाउँमा जम्मा पारेर राखिएको थियो। एकाबिहानै स्थानीयहरु सुतिरहेको समयमा सुरुमा एउटा ग्याँस सिलिण्डर विस्फोट भएको थियो।
त्यसपछि आगोको मुस्लो देखखिएको स्थानीयहरु बताउाछन्। आगलागीका कारण थप ग्यास सिलिण्डरसमेत विस्फोट भएको बताइएको छ। सिलिण्डर विस्फोटको आवाज शक्तिशाली सुनिएको स्थानीयले बताए। जसले गर्दा सो वरपरका सर्वसाधारणहरु घटनास्थल पुगेका थिए।
घटनास्थलमा प्रहरीहरुको टोली पुगेको छ भने घटना अनुसन्धान गरेर यकिन क्षतिको विवरण र घटनाबारे थप पुष्टि गर्ने धनुषा प्रहरीले जनाएको छ। अहिले आगलागी नियन्त्रणमा आइसकेको छ। होटलमा रातमा कोही पनि नबस्ने भएकोले कोही घाइते वा मानवीय क्षति भने हुन नपाएको बताइएको छ।