उत्तर कोरिया पुगे चिनियाँ राष्ट्रपति शी जिनपिङ
एजेन्सी,चीनका राष्ट्रपति शी सि जिनपिङ बिहीवार उत्तर कोरियाको ऐतिहासिक भ्रमणका क्रममा राजधानी प्योङयाङ पुगेका छन् ।
शी र उत्तर कोरियाका नेता किम जोङ–उनबीच आणविक मुद्दा र संयुक्त राष्ट्रसंघले लगाएको प्रतिबन्धका विषयमा कुराकानी गर्नेछन् । विगत १४ वर्षमा उत्तर कोरिया पुग्ने शी पहिलो चिनियाँ राष्ट्रपति हुन् । शीसँगै उनकी पत्नी पेङ लियुआन र परराष्ट्रमन्त्री वाङ यी पनि छन् ।
विगत केही वर्षयता चीन र उत्तर कोरियाले द्विपक्षीय सम्बन्ध सुधार्ने प्रयास गरिरहेका छन् । चीनले उत्तर कोरियामाथिको प्रतिबन्ध हटाउन पैरवी गरिरहेको छ । अघिल्लो वर्ष किम चारपटक चीन पुगेका थिए ।
विश्लेषकहरूले शीको यो भ्रमण निकै सोचविचार गरेर भएको बताए । शीले किम र ट्रम्पबीचको कुराकानीमा नजर राखेका छन् । शीको भ्रमणलाई उत्तर कोरियाली सञ्चारमाध्यमले महत्त्वपूर्ण भनेका छन् । सरकारी मुखपत्र रोदोङ शिन्मुनले फ्रन्ट पेजमा आधा भाग शीलाई छुट्ट्याएका छन् ।
उसको सम्पादकीयमा लेखिएको छ, ‘अहिले उत्तर कोरियाको अन्तर्राष्ट्रिय सम्बन्धमा जटिलता छ । चिनियाँ राष्ट्रपति यहाँ आउनु भनेको चीन र उत्तर कोरियाको सम्बन्ध महत्त्वपूर्ण भएको संकेत हो । चिनियाँहरूले हामीमाथि विश्वास गरेकोमा हामी गर्वान्वित छौं ।’ यसअघि किमले रुसको भ्लादिभोस्तोकमा राष्ट्रपति भ्लादिमिर पुटिनलाई भेटेका थिए ।