‘मलाई हेप्ने ओलीलाई देखाइ दिन्छु’भन्दै देउवा जंगिएपछि….
काठमाडौँ, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता शेरबहादुर देउवाले (मंगलबार) संसदमा बल मिच्याइ गरेर आफूलाई बोल्न नदिएको भन्दै आक्रोश पोखेका छन् । बुधबार प्रतिनिधिसभामा उनले विपक्षी पहिला बोल्ने विश्वव्यापी संसदीय अभ्यासविपरीत सरकार अघि बढेको आरोप लगाए ।

उनले भने, ‘हिजो उल्टो भएको छ, प्रजातन्त्रमा विपक्षीले पहिला बोल्ने हो । त्यसमाथि मैले पहिल्यै समय लिइसकेको थिएँ । संसारभरको मान्यता नै संसद विपक्षीको र सरकार सत्ता पक्षको हो, उनले अगाडि भने, ‘विपक्षीको काम नै बोल्ने हो । हामीले बोल्दैमा पूरा गर्नै पर्छ भन्ने थियो र ? हामी बोल्दैमा डराउनुपर्छ ?’
देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई हेपेको भन्दै आक्रोश पोखे । देउवाले भने, ‘संसदमा विपक्षी दलका नेता बोल्दा प्रधानमन्त्री जहिले पनि उपस्थित हुनुपर्ने भए पनि उपस्थित भएका छैनन् । प्रधानमन्त्रीले हेप्ने काम गरेका छन् । प्रधानमन्त्रीले बोल्दा विपक्षी आउनै पर्छ, विपक्षीले बोल्दा प्रधानमन्त्री आउनै पर्छ ।’
उनले २०४८ सालदेखि सांसद भएका ओलीले सामान्य संसदीय मान्यतासमेत बिर्सिएको टिप्पणी गरे । मंलबार संसदमा प्रधानमन्त्री ओली पहिला बोल्ने कि विपक्षी दलका नेता देउवा भन्ने विषयमा विवाद हुँदा कांग्रेस बैठक नै अवरोध गरेको थियो ।
संसदमा बोल्न नपाएपछि मंगलबार बेलुका सिंहदरबारमा पत्रकार सम्मेलन गर्दै ओलीले संसदीय अभ्यासमा जानकार देउवा आफैँ वेल घेर्न आएर असंसदीय क्रियाकलाप गरेको आरोप लगाएका थिए ।
त्यसको जवाफ दिँदै देउवाले आफूलाई ओलीले हेपेको जिकिर गरेका हुन् । यसअघि भन्दा निक्कै आक्रामक रुपमा संसदमा प्रस्तुत भएका देउवाले सरकार एकपछि अर्को विधेयकमार्फत प्रजातन्त्रलाई समाप्त पार्न लागेको आरोप लगाए । देउवाले सरकारले पछिल्लो समय ल्याएको विधेयकले लोकतन्त्रका मूल्य मान्यतामाथि आक्रमण गरेकाले कुनै पनि हालतमा पारित गर्न नदिने चेतावनी दिए ।
उनले मिडिया काउन्सिल, सूचना प्रविधि, राष्ट्रिय सुरक्षा परिषद् सम्बन्धी र राष्ट्रिय मानव अधिकार आयोग सम्बन्धी विधेयकलाई कांग्रेसले कुनै पनि मूल्य चुकाएर पास हुन नदिने घोषणा गरे । ‘सरकारले प्रजातान्त्रको खिलापमा १०१ विधेयक ल्याएको छ । यसलाई कुनै पनि हालतमा हामी पारित गर्न दिँदैनौं । हिजोभन्दा बढी सशक्त भएर आउने छौं, देउवाले भने ।
उनले गुठी विधेयक फिर्ता लिनु सकारात्मक भए पनि संसदीय अभ्यासविपरीत भएको बताए । विधेयक संसदबाटै फिर्ता लिनुपर्ने भए पनि बाहिरबाट फिर्ता लिनु आपत्ति जनक भएको दाबी गरे ।

