जनआन्दोलनको झल्को दिने गुठी आन्दोलन
काठमाडौं,सरकारविरुद्ध माइतीघर मण्डलामा विशला प्रदर्शन भइरहेको छ । सरकारले मंगलबार गुठी विधेयक फिर्ता लिएपनि संघर्षरत गुठी पक्षधरहरुले विशाल प्रदर्शन गरेका हुन् । सरकारको नियत खराब भएको भन्दै फेरि उक्त विधेयक अगाडि बढाउने शक्ने भन्दै विरोध प्रदर्शन गरिएको हो ।
काठमाडौंका विभिन्न स्थानहरुबाट जुलुससहित मण्डला पुगेर सभामा परिणत भएको छ । यो प्रदर्शन अहिलेसम्मकै ठूलो हो । यसअघि गुठी विधेयकको विरोधमा बसन्तपुर डबलीमा पनि प्रदर्शन गरिएको थियो ।
काठमाडौं उपत्यकाका नेवार समुदायले आफ्नो धर्म-संस्कृतिमाथि सरकारले हस्तक्षेप गर्न खोजेको भन्दै विधेयकको विरोध गर्दै आएका छन् । भूमिव्यवस्थामन्त्री मन्त्री पद्मा अर्यालले मंगलबार पत्रकार सम्मेलन गरेर विधेयक फिर्ता लिएको घोषणा गरेकी थिइन् । तर, सरोकारवालाहरुको संघर्ष रोकिएको छैन ।
विधेयक फिर्तासँगै आन्दोलन पनि फिर्ता हुने अपेक्षा सरकारले गरेको थियो तर झन विशाल प्रदर्शन भयो । ‘हाम्रो संस्कृति कसैको दाइजो होइन’, ‘सम्पदा मास्न पाइँदैन’ लगायतका नारा लगाउँनुको साथै संचारमन्त्री गोकुल बास्कोटाको राजिनामा समेत मागेका थिए ।
माइतीघर मण्डलमा ठाउँ नपुगेर बबरमहल, सिंहदरबार, थापाथलीतिरका सडकमा पनि मानिसहरु खचाखच भरिएका छन् । संघर्ष समितिका अगुवाहरुले सभालाई सम्बोधन गरिरहेका छन् । प्रदर्शनले जनआन्दोलनको झल्को दिएको छ ।