वडा कार्यालय तोडफोडको जिम्मा किन लियो नेकपाले ? कारण यस्तो रहेछ
जाजरकाेट, नलगाड नगरपालिका–१० रावतगाउँमा रहेको वडा कार्यालय तोडफोडको जिम्मेवारी नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले लिएको छ ।
नेपाल कम्युनिस्ट पार्टी जाजरकोट इन्चार्ज प्रेमप्रकाश वली ‘धमिल’ ले कार्यालय तोडफोड तथा आगजनिको जिम्मेवारी लिएका हुन् । उनले पार्टीकै निर्देशनमा स्थानीय जनताले कार्यालय भित्रका कागजजात जलाएको प्रतिक्रिया दिए ।
मंगलबार राति विप्लवे पार्टीको एक समूहले कार्यालयको ढोका फोरेर सबै सामाग्री बाहिर ल्याएर आगो लगाइदिएका थिए । कार्यालयमा रहेका सहयोगीलाई नियन्त्रणमा लिएर कार्यालयका कागजात, क्यामेरा, कम्प्युटर, सोफा, टेवल, मोबाइल, दराज र कुर्सीमा आगजनी गरेका थिए ।
‘पार्टीको केन्द्रीय नीति अनुसार नै भष्ट, दलाल, नैतिक पतन भएका र विकास निर्माणमा कमिशन माग्ने कथित जनप्रतिनिधि भएका ठाउँमा यसरी नै स्थानीय जनतालाई प्रतिरोधमा उत्रार्ने र पार्टीले जिम्मेवारी लिने प्रक्रिया जारी छ ।’ नेकपा जिल्ला इन्चार्ज धमिलले भने् ।
वडा नम्बर १० का वडाध्यक्ष भद्रबहादुर ध्यार पनि नैतिक पतन, भष्ट र कमिशनखोर भएकाले पहिलो चरणको कारबाही स्वरुप सामग्री जलाइएको ईन्चार्ज वलीले बताए । ‘आफूहरुको आधार इलाकामा दलाल सरकारका प्रतिनिधीलाई अनुमति विना काम गर्न दिइन्न’, उनले भने ।
चन्दा नदिएका कारण वडा कार्यालयका सामग्री जलाइएको हो ? भन्ने प्रश्नको जिज्ञासामा जिल्ला इन्चार्ज धमिलले भने, ‘हामीले कसैसँग चन्दा मागेका छैनौँ । तर, स्थानीय सत्ताले कर उठाउने गर्छ । स्थानीय सत्तालाई कर नतिर्ने कथित जनप्रतिनिधि स्थानीय सत्ताको विरोधी हुन्छ । ऊ कारबाहीको भागेदार हुन्छ ।’
नेकपाका कार्यकर्ताले जाजरकोटका जनप्रतिनिधि वडाध्यक्ष देखि अध्यक्ष र मेयरलाई २० हजारदेखि पाँच लाख रुपैयाँसम्म तोकेरै चन्दा मागेको बताईएको छ । माटो रकम मागेपछि जनप्रतिनिधि चिन्तित बनेका छन् ।