विप्लवको रगत चढाएर गणतन्त्र बलियो हुँदैन : विश्वप्रकाश

गोरखा ,नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले विप्लवको बली चढाएर लोकतन्त्र बलियो बनाउने सपना नदेख्न आग्रह गरेका छन्।

नेपाली कांग्रेस, गोरखा नगरपालिकाको दोस्रो नगर सम्मेलनको उद्घाटन समारोहमा बोल्दै कांग्रेस नेता शर्माले बिप्लवकाे समास्या बार्ताबाट सामाधान गर्न सुझाएका हुन ।

 जंगल भड्किएका विप्लवले बुझून्, प्रचण्डलाई मारेर विप्लवले भनेको जनगणतन्त्र आउँदैन। आज शान्तिमा आएका प्रचण्डलाई पनि उत्तिकै बाँच्ने अधिकार छ,’ उनले भने, ‘सिंहदरबारमा बसेका केपी ओलीजीले पनि बुझून्, विप्लवको रगत चढाएर हाम्रो लोकतन्त्र, गणतन्त्र पनि बलियो बन्दैन।’

आफ्नै जातभाइलाई विश्वासमा लिएर राजनीति गर्न उनले सत्ता र विद्रोही पक्षलाई आग्रह गरे। ‘उही जातको, उही गोत्रको, उही हसिया हथौडा थरको, उही माक्सवाद, लेनिनवाद भन्ने परम्पराको नेपाल कम्युनिस्ट पार्टीलाई विश्वासमा लिन सक्नुहुन्न ?’ प्रधानमन्त्रीप्रति लक्षित गर्दै उनले भने, ‘अनि फूर्ति ठूलै हाँक्नुहुन्छ।’

फरक दर्शन बोकेको कांग्रेसले बरु पहाडजत्रो माओवादीलाई राजनीतिक मूल धारमा ल्याएको उनले तर्क गरे। ‘काङ्ग्रेसले त पहाडजत्रो माओवादी लिएर आएको प्रचण्ड, प्रचण्डको दायातिर वैद्य थिए, बायाँतिर बाबुराम थिए। अर्को छेउमा विप्लव थिए, अर्को छेउमा बादल थिए। भएजति कमरेडलाई कांग्रेसले संसदीय व्यवस्थामा ल्याएको थियो।’ तर आफ्नै वर्ग गोत्रको विप्लवलाई राजनीतिक मूलधारमा ल्याउन नसकेकोमा प्रधानमन्त्रीप्रति कटाक्ष गर्दै उनले भने, ‘काङ्ग्रेस आज तपाईंलाई सोध्न चाहन्छ, तपाईसँग शासकीय क्षमता छ कि छैन ? विप्लवलाई किन राजनीतिक मूलधारमा ल्याउनुहुन्न ? कहिलेसम्म मान्छे मारिरहनुहुन्छ?’