गुठी विधेयकको विरोध गर्नेमाथि निर्मम प्रहरी दमन

काठमाडौं,गुठीसम्बन्धी कानुनलाई एकीकरण र संशोधन गर्न बनेको विधेयकको विरोध गर्दै आन्दोलनमा उत्रिएकामाथि प्रहरीले दमन गरेको छ । माइतीघर मण्डलामा प्रदर्शनमा उत्रेका प्रदर्शनकारीमाथि प्रहरीले हस्तक्षेप गरी लाठी प्रहार गर्दा केही घाइते भएका छन् । प्रदर्शनकारीमाथि प्रहरीले पानीको फोहोरा प्रहार गरेको थियो ।

माइतीघर मण्डलमा नेवाः देय् दबू, नेवा राजनीतिक अभियान, नेवाः राष्ट्रिय पत्रकार दबूलगायतको आह्वानमा प्रदर्शन गरिएको हो । सरकारले गुठीको स्वामित्व नै लोप हुने गरी गुठीसम्बन्धि कानुनमा संशोधन गर्न खोजेपछि उनीहरुले विधेयक फिर्ता लिन पटक पटक आग्रह गरेका थिए ।प्रहरीको हस्तक्षेपपछि माइतीघर मण्डला क्षेत्र तनावग्रस्त बन्यो ।

डा. महेशमान श्रेष्ठ, अनिश वैद्य पक्राउ परेका छन् भने महेश्वर रञ्जीतकार घाइते भएका छन् । रञ्जीतकारको टाउको फुटेको छ । आन्दोलनकारीहरुले भूमाफिया पोस्ने विधेयक खारेज गर, संस्कृतिमाथिको हस्तक्षेप बन्द गर लेखेका प्लेकार्डसहित प्रदर्शन गरेका थिए । ०७६ वैशाख १७ गते भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले सो विधेकयक राष्ट्रिय सभामा दर्ता गरेको छ।