बैतडी घर भएका चन्दको भारतमा हत्या

बैतडी घर भएका एक नेपालीको भारतमा हत्या भएको छ । हत्या हुनेमा बैतडीको तल्लोस्वराडका ४८ वर्षीय लोकेन्द्रचन्द रहेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक दीपक पातलीले जानकारी दिए ।

भारतको पिथौरागढ जिल्लाको वृहतग्राम गैना गाउँमा चन्दको हत्या भएको हो । ६ जेठमा चन्दको हत्या भएपनि उनलाई उडियारी जङ्गलमा लगेर गाडेको र शुक्रबार स्थानीय महिलाले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । चन्दको हत्या गरेको आरोपमा पिथौरागढका नीरज कुमारलाई पक्राउ गरी भारतीय प्रहरीले अनुसन्धान थालेको छ ।

चन्द भारतमा मजदूरी गर्दै आएका थिए । हत्याको आरोपमा पक्राउ परेका नीरज कुमार जीपका सहचालक रहेका थिए । मादक पदार्थ सेवन गरी विवाद हुँदा कुमारले फलामको रडले चन्दको टाउकोमा हिर्काएका थिए । टाउकोमा गम्भीर चोट लागेका चन्दलाई जीपमा राखी जङ्गलमा लगेर गाडेको कुमारले प्रहरीको वयानमा बताएका छन् ।

मृतक चन्दको शव परीक्षणका लागि पिथौरागढको एक सरकारी अस्पतालमा राखिएको भारतीय प्रहरीलाई उढृत गर्दै जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । शव ढिला फेला परेकाले सडेको अवस्थामा रहेको छ ।

घटनास्थल नेपाल–भारत सीमा नाका बैतडीको झुलाघाटबाट १८ किलोमिटरको दुरीमा पर्दछ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।