३ लाख रुपैयाँसहित दुईजना हुण्डी कारोबारी पक्राउ

वीरगञ्ज,बिरगन्ज प्रहरीले स्रोत खुलाउन नसकेको ३ लाख रुपैयाँसहित हुण्डी कारोबार गर्ने २ जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा एक जना भारतीय युवक रहेका छन् भने एक जना नेपाली युवक रहेको पर्सा प्रहरीले जनाएको छ।

हुण्डी कारोबार हुँदैछ भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी टोलीले बारा सिमरा उप–महानगरपालिका वडा नम्बर ७ पहाडीटोल बस्ने २२ वर्षीय युवक रोशन साह र भारत बिहार मोतिहारीका २२ वर्षीय सौरभ कुमारलाई पक्राउ गरेको हो।

उनीहरु दुवैजनालाई वीरगञ्ज महानगरपालिका वडा नम्बर १६ रजतजयन्ती चोकबाट चेकजाँच गर्ने क्रममा भारतको रक्सौलबाट वीरगञ्ज आउँदै गरेको अवस्थामा पक्राउ गरिएको प्रहरीले जनाएको छ।

पक्राउ परेका उनीहरुको साथबाट स्रोत खुलाउन नसकेको नेपाली २ लाख ९९ हजार ५ सय र कारोबार उल्लेख भएका २ थान मोबाइल बरामद गरिएको प्रहरीले जनाएको छ। पक्राउ परेका दुवै जनालाई प्रहरी नियन्त्रणमा राखी आवश्यक अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।