वृद्धाभत्ताका कार्यक्रमलाई मात्रै हेरेर खुसी हुँ कि दुःखी ?- गगन थापा
काठमाडौं, नेपाली काँग्रेसका सांसद गगन थापाले बजेटमा आएका निर्वाचन क्षेत्र र वृद्धा भत्ताका कार्यक्रमलाई मात्रै हेरेर म खुसी हुँ कि दुखी हुँ भनी प्रश्न गरेका छन । उनले भने, “म जस्तो एउटा व्यक्ति सांसद भएर खुसी हुँ कि नागरिक भएर दुखी हुँ ? खुसी हुँ कि दुखी हुँ । म अलमलमा परेको छु ।
उनले सरकारले अघि सारेको सम्मृद्ध नेपाल सुखी नेपालीको नारा बजेटमा प्रतिविम्बित हुन नसकेको बताएका छन् । प्रतिनिधिसभाको मंगलबारको बैठकमा आर्थिक वर्ष २०७६/७७ को बजेटमाथिको छलफलमा सहभागी हुँदै सांसद थापाले सरकारको लक्ष्य अनुसार बजेटमा विकासको दर्शन आउन नसकेको टिप्पणी गरे ।
बलियो सरकारले ल्याएको बजेटमा विकासको प्रस्थान विन्दु गाउँ हो कि शहर हो भन्नेमा नै अन्योल देखिएको तर्क उनले गरे । बजेटमा आर्थिक विकासको र राजश्वको लक्ष्य फेला नपरेको, नेकपाको विकास दर्शन र सिद्धान्त फेला नपरेको तथा मन्त्रालयगत प्राथमिकता निराशाजनक भएको टिप्पणी उनले गरे ।
बहुमतको सरकारले मुलुकको आर्थिक विकासका लागि निरन्तरतामा क्रमभंग गरि रुपान्तरणको बाटोमा अघि बढ्छ भन्ने नागरिकको अपेक्षा सम्बोधन गर्न नसकेको दाबी गरे । उनले सम्मुन्त अर्थतन्त्रका लागि पर्यटन, राजश्व परिचालन लगायत क्षेत्रमा प्रभावकारी सुधार आउन नसकेको बताए ।