राष्ट्रपति भण्डारी नेपालगन्ज आउने भएसँगै नेपालगन्जको सुरक्षा व्यवस्था कडा
नेपालगन्ज ,राष्ट्रपति विद्यादेवी भण्डारी नेपालगन्ज आउने भएसँगै यस क्षेत्रको सुरक्षा व्यवस्था समेत कडा पारिएको छ । नेपालगन्जमा राष्ट्रपति भण्डारी आउने भएपछि सुरक्षा सतर्कताका लागि आवश्यक योजना बनाइएको जिल्ला प्रशासन कार्यालय बाँकेले जनाएको छ ।
‘राष्ट्रपती भण्डारी आउने भएसँगै केही दिनयता नै यस क्षेत्रको सुरक्षा व्यवस्थामा कडाई गरिसकिएको छ’ बाँकेका प्रहरी प्रमुख एसपी अरुण पौडेलले भने, ‘यसका लागी सुरक्षा योजना बनाएर नै लागू गरिएको छ ।’
राष्ट्रपतीको सुरक्षालाई मध्यनगर गर्दै नेपाली सेना, नेपाल प्रहरी र शसस्त्र प्रहरीले ठूलो संख्यामा सादा पोशाकमा समेत सुरक्षाकर्मीहरु परिचालन गरेका छन् ।
उच्च सुरक्षा स्रोतका अनुसार राष्ट्रपति भण्डारी आज दिउँसो जहाजमार्फत नेपालगन्ज विमानस्थलमा ओर्लिनेछिन् । विमानस्थलबाट उनी सोझै भुजइगाउँस्थित होटल सोल्टीमा जाने तालिका रहेको छ ।
राष्ट्रपति हिड्ने रुट, कार्यक्रम स्थल, बसोबास गर्ने स्थान लगायतका क्षेत्रमा सुरक्षाकर्मीहरुले निगरानी बढाएका छन् । ‘राष्ट्रपति आउने भएपछि उच्च सुरक्षा सर्तकता अपनाइएको छ’ एसपी पौडेलले भने, ‘ठूलो मात्रामा प्रहरी परिचालनका साथै आवश्यक परेको खण्डमा चाहिने गरी सुरक्षाकर्मीलाई रिजर्ब अवस्थामा समेत राखिएको छ ।’
होटल सोल्टीबाट राष्ट्रपति कार्यक्रम स्थल बैजनाथ गाउँपालिकाको जि गाउँ र नेपालगन्जमा सवारी साधन प्रयोग गरेर जानेछिन् । त्यसैले नेपालगन्जसहित कोहलपुर, जि गाउँको सुरक्षा व्यवस्था समेत कडा पारिएको छ । राष्ट्रपति कार्यक्रम स्थल जाँदा र फर्किदा सुरक्षाका कारणले केही समय सवारी आगवन बन्द हुनसक्ने बताइएको छ ।