टाटासुमो त्रिशुलीमा खस्दा ३ जनाको मृत्यु
रसुवा- मैलुङ–स्याँफ्रुबेसी सडकखण्डमा सोमबार साँझ भएको टाटासुमो दुर्घटनामा ३ जनाको मृत्यु भएको छ। ३ जना अझै बेपत्ता छन् भने ५ गम्भीर घाइते भएका छन्।
दुर्घटनामा परी मृत्यु हुनेमा आमाछोदिङ्मो गाउँपालिका–४ का ३२ वर्षीय नोर्वु तामाङ, ३२ वर्षीया साइली घले र ३५ वर्षीया मिन्दो घले रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक ईश्वरीप्रसाद भण्डारीले जानकारी दिए। दुई जनाको घटनास्थलमा तथा एक जनाको त्रिशूली अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो।
टाटासुमोमा सवार सबै उत्तरी रसुवाको गोल्जुङका बासिन्दा हुन्। गम्भीर घाइतेमा चालक आमाछोदिङ्मो गाउँपालिका–४ का ३२ वर्षीय निमा तामाङ, ३५ वर्षीया जौरानी घले, २९ वर्षीय योङजुङ तामाङ, पाँच वर्षीया फुर्वु याङजेन तामाङ र तीन वर्षीय निम छेवाङ तामाङ रहेका छन्। उनीहरुलाई उपचारका लागि काठमाडौं लगिएको त्रिशुली अस्पतालले जनाएको छ।
आमाछोदिङ्मो–४ का ४८ वर्षीय पासाङ्दे घले, १९ वर्षीया कामी याङ्जेन घले र २० वर्षीया लेताङ घले बेपत्ता रहेको प्रहरी निरीक्षक भण्डारीले बताए। प्रहरी नायव उपरीक्षक भागेन्द्रपुरूष ढकालको नेतृत्वमा घटनास्थल गएको प्रहरी टोलीले अहिले बेपत्ताको खोजी गरिरहेको छ।
पोखराबाट रसुवाको गोल्जुङतर्फ आउँदै गरेको बा१०च ५८२० नम्बरको टाटासुमो मैलुङ–स्याँफ्रुबेसी सडकखण्डको कालिका र गोशाइँकुण्ड गाउँपालिकाको सीमा क्षेत्रमा दुर्घटना भई करिब एक सय मिटर तल त्रिशूली नदीमा खसेको थियो। रासस