कार्यविभाजन टुंग्याउन नेकपाका शीर्ष नेताहरू छलफलमा
काठमाडाैँ, पार्टीको कार्य विभाजनबारे टुंगो लगाउन नेपाल कम्युनिष्ट पार्टीका शीर्ष नेताहरु गृहकार्यमा जुटेका छन्। बालुवाटार निकट स्रोतका अनुसार मंगलबार दिउँसो तीन बजेका लागि बोलाइएको सचिवालय बैठकअघिनै सहमति जुटाउने गरी चार नेताको बैठक बिहानैदेखि प्रधानमन्त्री निवासमा जारी छ।
बैठकमा नेकपामा दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहालसहित महासचिव विष्णु पौडेल र अर्का नेता माधवकुमार नेपाल सहभागी छन्। एउटै विभागको नेतृत्वका लागि धेरै नेताहरू आकांक्षी हुँदा नेकपाले विभिन्न विभागहरूका नेतृत्वबारे निर्णय गर्न सकेको छैन।
संगठन, आर्थिक, प्रचार, पार्टी स्कुललगायत विभागमा धेरै नेताहरुको दाबी छ। विशेष गरी संगठन विभागका लागि सचिवालयका सदस्यहरू नै आकांक्षी भएपछि भागबन्डा मिलाउन नेतृत्वलाई सकस भएको हो।
बैठकमै सहभागी विष्णु पौडेल र माधवकुमार नेपाल पनि संगठन विभाग हाँक्न चाहन्छन्। गत वर्ष जेठमा पार्टी एकीकरणको घोषणा हुँदा तीन महिनाभित्र कार्यविभाजन सक्ने भनिएको थियो।
वर्षदिन बित्दासमेत नेकपामा दोस्रो तहभन्दा तलका नेता कार्यकर्ता जिम्मेवारीविहीन छन्। जारी छलफलमा चार नेताबीच मोटामोटी सहमति भएमात्रै दिउँसो सचिवालय बैठक बस्ने स्रोतको भनाइ छ। यसअघि सोमबारका लागि बोलाइएको सचिवालय बैठक पनि नेताहरूबीच सहमति नजुट्दा आजका लागि सरेको थियो।