बिडारी भन्छन् – ‘अर्थमन्त्रीले सांसदलाई लाहुरे बनाए’
काठमाडौं ,संघीय संसद राष्ट्रियसभा सदस्य रामनारायण बिडारीले सांसदहरूलाई ६ करोड रकम छुट्याएकोमा अर्थमन्त्री डा. युवराज खतिवडाको आलोचना गरेका छन्।

आफूले बारम्बार रकम नदिन सुझाव दिँदा पनि मन्त्री खतिवडाले ६ करोड रकम छुट्याएको भन्दै राष्ट्रियसभाको मंगलबारको बैठकमा बिडारीले आलोचना गरेका हुन्। उनले सांसदहरूलाई कार्यकारीको जस्तो बजेट बाँड्ने अधिकार दिएकोमा विरोध गरेका हुन्।
‘म सानो छँदाका कुरा सम्झिन्छु, लाहुरे आउँथ्यो छड्के रेडियो भिरेर घन्काउँदै र अनि हामी गाउँका बच्चाहरू पछिपछि लाग्थ्यौँ। अनि उसले किसिम किसिमका चकलेट दिन्थ्यो। रमाइलो हुन्थ्यो’, सांसद बिडारीले भने, ‘अहिले अर्थमन्त्रीले सांसदहरूलाई त्यस्तै बनाइदिनुभएको छ। त्यसकारण प्रसंसा गर्नैपर्ने भयो।
‘ए सांसद आयो, मलाई ६ लाख, मलाई ८ लाख, मलाई १० लाख’ भन्दै पछि लाग्न थालेका छन्।’ बिडारीले भने, ‘यस्तो प्रकारको बनाइदिनुभएको छ, त्यसकारण प्रसंसा गर्नैपर्ने भयो। मैले बारम्बार सैद्धान्तिक रूपमा भन्दै आएको थिए। तर उहाँले बजेट दिनुभयो।’ सांसद बिडारीले अर्थमन्त्रीले बजेट भाषणमा ‘मैले’ भन्ने शब्दप्रति पनि असन्तुष्टि जनाए। उनले भने, ‘यो नेपाल सरकारले पेश गरेको बजेट होइन? अर्थमन्त्रीले ‘मैले विनियोजन गरेको छु’ भन्नुभएको छ।
क्रान्तिकारी अर्थमन्त्रीले पनि त्यै भाषा बोल्नुभयो। यसबारे विपक्षी सांसद केही बोल्दैनन्, किनकी उनीहरूले विगतमा त्यै गरेका थिए।’ सरकारको नीति तथा कार्यक्रम पेश गर्ने बेला राष्ट्रपतिले ‘मेरो सरकार’ भनेकामा प्रमुख प्रतिपक्षी कांग्रेसले विरोध गरेको थियो। तर बजेटको विषयमा भने त्यस्तो नआएको भनेर प्रतिपक्षीको सांसद बिडारीले आलोचना गरेका हुन्।

