जब विप्लवका कार्यकर्ता चौकी कब्जा गर्न पुगे, सुइँको पाएर प्रहरीले सुइकुच्चा ठोके
काठमाण्डाै, नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका कार्यकर्ताहरुले सोलुखुम्बुको महाकुलुङ गाउँपालिका–३ छेस्कामस्थित प्रहरी चौकी कब्जा गर्ने प्रयास गरेको हल्ला बाहिरिएकाे छ । गएराति करिब ३० जनाको समुहमा आएका विप्लवका लडाकुले प्रहरी चौकी कब्जा गर्ने प्रयास गरेकाे हल्ला बाहिरिएकाे हाे ।
मध्यराति १२ बजेको समयमा विप्लवका कार्यकर्ता चौकीमा पुगेकाे बताइएकाे छ । विप्लवका कार्यकर्ता चौकीतर्फ आउँदै गरेको सूचना पाएपछि ७ जना प्रहरी हतियार सहित सुरक्षित स्थानमा गएकाे समेत बताइएकाे छ ।
प्रहरी नभेटेपछि उनीहरु बिहान ३ बजेसम्म चौकी आसापासकै क्षेत्रमा बसेका थिए । आज बिहानै काठमाण्डुबाट सशस्त्र प्रहरीको ११ जनाको र नेपाल प्रहरीको २० जनाको विशेष टोली हेलिकप्टरबाट सोलुखुम्बु पुगेर परिचालित भएको छ ।
विराटनगरबाट पनि प्रहरी टोली सोलुखुम्बु पुगेको बताइएको छ । हतियारधारी समूह जंगलमा देखिएको र त्यसतर्फ सुरक्षाकर्मी परिचालन गरिएको सशस्त्र प्रहरीले जनाएको छ ।
सोलुखुम्बुको महाकुलुङ गाउँपालिकाका अध्यक्ष सागर किराँतीले गाउँपालिकाभित्र विप्लव नेकपाका गतिविधि बढेको बताए ।
उनले केहीसमयदेखि सो पार्टीका गतिविधि बढेपछि सशस्त्र र नेपाल प्रहरीले गस्ती समेत बढाएको जानकारी दिए । अध्यक्ष किराँतीका अनुसार गएराति गाउँपालिका– ५, नुर्कममा विप्लवका कार्यकर्ताको गतिविधि बढेको बताए ।