घर छाडेर गएकाहरूको धेरै चिन्ता लागेको छ – प्रचण्ड
काठमाडौं,नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विप्लव समूहमा लागेका केही साथीहरूको आफूलाई चिन्ता लागेको बताएका छन्।
आइतबार राजधानीमा विप्लव नेतृत्वको नेकपाका पोलिटव्युरो सदस्य पदम राईलाई नेकपामा प्रवेश गराउँदै उनले यस्तो बताएका हुन्। ‘भ्रममा परेर गलत बाटोमा हिँडेकाहरू घर फर्कंदा खुसी लागेको छ,’ उनले भने, ‘आफैँले हुर्काएको, नेता बनाएकाहरू बाटो बिराएर घर छाडेर के गरिरहेका होलान् भन्ने चिन्ता लागेको थियो।’
पदम राईलाई नेता बनाउन आफूहरूको पनि उत्तिकै भूमिका रहेको स्मरण गर्दै प्रचण्डले थपे, ‘उहाँलाई नेता बनाउनमा हाम्रो पनि भूमिका थियो, बीचमा भ्रमको स्थिति बनेर अन्यत्र जानुभयो र अझ खारिएर, भोगेर गलत बाटोबाट सही बाटोमा आउनुभएको छ।’ गलत बाटोमा लागेर राष्ट्र र जनताको हित हुँदैन भन्ने बुझेर नै राई पुरानै घर फर्केको प्रचण्डले बताए। पार्टीले पनि राईको हिजोको त्याग, योगदार र बलिदान हेरेर समुचित जिम्मेवारी दिने पनि अध्यक्ष प्रचण्डले बताए।
मन्त्री पदसमेत सम्हालिसकेका राई पार्टीमा आइसकेपछि प्रदेश १ को नेकपा अझ बलियो बनेको उनको बुझाइ थियो। आफूहरूको नेपालमा एउटै कम्युनिस्ट पार्टी बनाउने र उसकै नेतृत्वमा समृद्धि हासिल गर्ने लक्ष्य रहेको पनि अध्यक्ष प्रचण्डले बताए। उनले भने, ‘कम्युनिस्टको दुईतिहाइ मत प्राप्त गरेर सरकारको नेतृत्व गरिरहेका छौँ। हामीमाथि जनताको ठूलो आशा र भरोशा रहेको छ।’