गर्मीका कारण भारतमा ३० जनाको मृत्यु,यस्तो छ तापक्रम

भारतमा अत्यधिक गर्मीका कारण अहिलेसम्म कम्तीमा ३० जनाको मृत्यु भएको छ। पछिल्लो केही दिनदेखि भारतभर गर्मीको कहर जारी रहेको छ। गर्मीको सबैभन्दा बढी प्रभाव पश्चिमी राजस्थानमा परेको छ। त्यहाँको तापक्रम अधिकतम् ५०.८ डिग्री सेल्सियससम्म पुगेको छ।

त्यस्तै पञ्जाव हरियाणा, उत्तरप्रदेश र दिल्लीमा पनि गर्मी तापक्रम उच्च विन्दुमा पुगेको छ। गर्मीका कारण अहिलेसम्म देशभरमा ३० जनाको मृत्यु भइसकेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। मृत्यु हुनेमा धेरैजसो राजस्थान क्षेत्रका रहेको बताइएको छ।

थार मरुभूमिबाट आउने तातो हावाका कारण तापक्रममा वृद्धि भइरहेको त्यहाँको मौसम विभागले जनाएको छ। मौसम विभागका अनुसरा मे चारसम्म अझै तापक्रम वृद्धि हुने र त्यसपछिमात्र वर्षाको सम्भावना रहेको छ।

लखनउको मौसम विभागका अनुसार त्यसक्षेत्रमा आइतबार हावाहुरीका साथ लखनउ, सीतापुर हरदोइ लगायतका क्षेत्रमा वर्षाको सम्भावना रहेको छ।

कर्नाटकमा पूजा गर्न सरकारको आदेश

भारतको कर्नाटक लामो समयदेखि खडेरीको चपेटामा छ। कर्नाटकका मुख्यमन्त्री एचडी कुमारास्वामी नेतृत्वको सरकारले सर्कुलर नै जारी गरेर पानी माग्दै राज्यभरका सबै मन्दिरमा पूजा गर्न आदेश दिएको छ। सरकारले १० हजार एक रुपैयाँभन्दा बढी खर्च नगर्नगरी सबै मन्दिरमा पूजा गर्न आदेश दिएको हो।

कर्नाटकको हुबली क्षेत्रका किसानहरुले सस्तैमा गाईबस्तु बेच्न बाध्य भएको बताएका छन्। उनीहरु भन्छन्, ‘हामीसँग गाईबस्तुलाई खुवाउनका लागि केही छैन, पानी पनि परेको छैन, खेतिवाली गर्न सकेका छैनौँ।’

मौसम विभाकका अनुसरा बंगालको खाडी, अरब सागर र अन्डमान द्वीपमार्फत हुने मनसनु केरालामा ६ जुनमा पुग्ने छ। त्यसपछिमात्र मौसम सामान्य अवस्थामा आउने बताइएको छ।

भारतमा वर्षेनी ७० प्रतिशत वर्षा मनुसनका क्रममा हुन्छ जुन कृर्षिका लागि महत्वपूर्ण मानिन्छ।