अन्ततः सत्तारुढ नेकपामा छिरे विप्लवका पोलिटब्युरो सदस्य राई
काठमाडाैँ, नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका पोलिटब्युरो सदस्य पदम राई सत्तारूढ नेकपा प्रवेश गरेका छन्। पार्टी कार्यालय धुम्बाराहीमा आइतबार बिहान नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राईलाई पार्टी प्रवेश गराएका हुन्।
पार्टी प्रवेश कार्यक्रममा नेकपा महासचिव विष्णु पौडेल, गृहमन्त्री रामबहादुर थापालगायत नेताहरू सहभागी थिए। भोजपुरका राईलाई पार्टी नीतिविपरित अभिव्यक्ति दिएको भन्दै विप्लवले केही समयअघि निलम्बन गरेका थिए। तत्कालीन नेकपा माओवादीबाट पहिलो संविधान सभामा भोजपुरबाट निर्वाचित भएका राई राज्यमन्त्री बनेका थिय।
पार्टी फुटेसँगै मोहन वैद्यको समूहमा लागेका थिए। पछि उनी विप्लव समूहमा पुगेका थिए।
२०७४ को आमनिर्वाचनमा भोजपुरका प्रदेश सभा उम्मेद्वार (हाल प्रदेश १ का मुख्यमन्त्री) शेरधन राईमाथिमा भएको बम आक्रमणमा संलग्नता रहेको भन्दै प्रहरीले उनलाई पक्रेको थियो। पछि अदालतको आदेशबाट उनी रिहा भएका थिए।