यार्सा संकलन गर्न गएका तीन जनाको लेक लागेर मृत्यु

डोल्पा,यार्सागुम्बा संकलन गर्न गएका तीन जनाको मृत्यु भएको छ। डोल्पाको शे–फोक्सुण्डो गाउँपालिकामा पर्ने पाटनमा यार्सागुम्बा संकलन गर्न गएका जाजरकोटका दुइ जनाको लेक लागेर मृत्यु भएको हो। मृत्यु हुनेमा बारेकोट गाउँपालिका–१ का १८ वर्षीय कृष्ण बिक र जाजरकोटकै २२ वर्षीय रमेश चलाउने रहेको जिल्ला प्रहरी कार्यालय डोल्पाले जनाएको छ।

लेक लागेर बिरामी परेका चलाउनेको बिहीबार प्यारी भोक्पा यार्सागुम्बा पाटनमै मृत्यु भएको र बिकको उपचारका लागि ल्याउँदै गर्दा शनिबार बिहानै फोक्सुण्डो ताल नजिक पर्ने रिग्मो गाउँमा मृत्यु भएको प्रहरीले जनाएको छ। त्यस्तै, ठूलीभेरी नगरपालिका–१ का ३८ वर्षीय बुद्धि कार्कीको गत बिहिबार दुना यार्सापाटनमा भीरबाट लडेर मृत्यु भएको थियो।

यार्सा संकलनमा जानेहरुमा लेक लागेर बिरामी पर्नेको संख्या बढ्दै गएकाले सर्वसाधारणहरु धमाधम घर फर्कन थालेका छन्। एक महिनाअघि मात्रै यार्सा संकलन गर्न आएका जुम्लाका दुईजनाको मृत्यु भएको थियो। बैशाखदेखि हालसम्म पाँच जनाले ज्यान गुमाइसकेको शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जले जनाएको छ।