विप्लबका नेता ‘सुदर्शन’ लाई भेट्टन नख्खु जेल पुगे क्रान्तिकारी माओवादीका महासचिव ‘किरण’
काठमाडौं, नेत्र विक्रम चन्द ‘विप्लब’ नेतूत्वको प्रतिवन्धित नेपाल कम्युनिष्ट पार्टीका स्थायी समिति सदस्य हेमन्त प्रकाश ओली सुदर्शन’को पछिल्लो स्वास्थ्य स्थिति बुझ्न नेकपा (क्रान्तिकारी माओवादी) का महासचिव मोहन वैद्य ‘किरण’ नख्खु कारागारमा पुगेका छन् ।
मंगलबार ‘सुदर्शन’लाई भेटेर महासचिव किरणले स्वास्थ्य स्थिति बुझेका छन् । दिउसो नख्खु कारागार पुगेका किरणले सुदर्शनको पछिल्लो स्वास्थ्य अवस्था र कारागारको व्यवस्थापनको विषयमा जिज्ञासा समेत राखेका थिए । भेटमा नेता सुदर्शन निकै उत्साहित मुद्रामा देखिएको किरण सँगै कारागार पुगेका क्रान्तिकारी माओवादीका केन्द्रिय सदस्य बसन्त बोगटीले बताए ।
महासचिव किरणले कारागार प्रशाशक वेद प्रसाद अर्यालसँग समग्र कारागारको व्यवस्थापन र राजनीतिक आस्थाका कैदी बन्दीको विषयमा सामान्य जानकारी लिदै उनीहरुलाई उचित मानवीय व्यवहार गर्न आग्रह समेत गरेका छन् । महासचिव किरणसँगै क्रान्तिकारी माओवादीका पोलिटव्युरो सदस्य एवं ३ नम्बर प्रदेश सेक्रेटरी दिनेश शर्मा सागर समेत सुदर्शनलाई भेट्न गएका थिए ।