मोदीको सपथग्रहणमा ओली पनि सहभागी हुने
काठमाडाैँ, प्रधानमन्त्री केपी शर्मा ओली विहीबार भारत जाने भएका छन् । उनी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सपथग्रहण समारोहमा सहभागी भारत जान लागेका हुन् ।
सोमबार भारतबाट औपचारिक निम्ता आएपछि प्रधानमन्त्री ओली सपथग्रहण समारोहमा सहभागी हुन दिल्ली जाने तय भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । विहीबार भारतीय प्रधानमन्त्री मोदीको सपथग्रहण राखिएको छ ।
प्रधानमन्त्री ओली सपथग्रहण र मोदीसँग द्विपक्षीय वार्तापछि जेठ १७ गते शुक्रबार नै स्वदेश फर्किनेछन् । मोदीको सपथग्रहण समारोहमा विमस्टेक राष्ट्रका सरकार तथा राष्ट्र प्रमुखलाई बोलाइएको छ ।
यसअघि मोदीको पहिलो कार्यकालको सपथग्रहण समारोहमा दक्षिण एसियाली मुलुकका सरकार प्रमुखलाई बोलाइएको थियो । त्यसबेला तत्कालीन प्रधानमन्त्री सुशील कोइराला सहभागी थिए ।
मोदीको सपथग्रहण समारोहमा सार्क मुलुकभित्रै पर्ने पाकिस्तान, अफगानिस्तान र माल्दिब्सका सरकार प्रमुखलाई भने निम्ता नदिइएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
मोदीको समथग्रहण समारोहमा मोरिसस र चेक गणतन्त्रका सरकार प्रमुख पनि सहभागी हुनेछन् । मोदीले बिहीवार साँझ ७ बजे राष्ट्रपति रामनाथ कोविन्दबाट दोस्रो कार्यकालका लागि सपथ लिनेछन् ।