बम विस्फोटमा मृत्यु भएका पाँचजना कमाण्डरलाई विप्लवले गरे शहीद घोषणा
काठमाडाैँ, नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले आइतबार काठमाडौंमा भएको बम विस्फोटको घटनामा मृत्यु भएका चार र भोजपुरमा प्रहरीको गोली लागेर मारिएका एक सहित पाँच जना कार्यकर्तालाई शहीद घोषणा गरेको छ।
पार्टी, जनमुक्ति सेना र जवसका कमान्डरहरू महान, दीपेन्द्र, प्रज्वल शाही र निरन्तरका साथै भोजपुरमा बलिदान गर्ने तीर्थ घिमिरे ‘राजु’लाई सहिद घोषणा गरेको महासचिव विप्लवद्वारा सोमबार जारी वक्तव्यमा जनाइएको छ।
विप्लवले काठमाडौँमा बम विस्फोटको घटनामा कसरी क्षति हुन पुग्यो, त्यसको सत्यतथ्य जनतामा ल्याउने प्रतिबद्धता पनि व्यक्त गरेका छन्।
उनले यी सबै घटना हुनुको मुख्य दोषी केपी सरकारको फासिवादी दमन रहेको दाबी पनि गरेका छन्। सहादत प्राप्त गर्नेहरूप्रति सिङ्गो पार्टीका तर्फबाट उनले भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दै शोकाकुल परिवारजनप्रति समवेदना पनि व्यक्त गरेका छन्।
महासचिव विप्लवले सरकारले आफ्ना निसश्त्र कार्यकर्ताकाे भाेजपुरमा हत्या गरेकाे आराेप लगाउँदै त्यसकाे प्रतिराेधमा १३ गतेको नेपाल बन्द लगायत आमहडताल आह्यवान गरेकाे दाबी गरेका छन्।
विज्ञप्तिमा भनिएकाे छ, ‘सामाजिक फासिवादी सरकारले नेकपा सम्बद्ध युवक सङ्गठनका नेता तीर्थराज घिमिरे ‘राजु’को गत जेठ ७ गते मङ्गलबार भोजपुर र खोटाङको सिमानामा पर्ने मैयुमको धोत्रेमा झूट्टो मुठभेडका नाममा निःशस्त्र अवस्थामा गिरफ्तार गरेर गोली हानी हत्या गर्यो। यसरी केपी सरकारले गरेको हत्याको प्रतिरोध गर्नु एक क्रान्तिकारी पार्टीको अनिवार्य कर्तव्य हुन भएकाले सोही प्रतिरोधको सिलसिलामा नेकपाले विभिन्न कार्यक्रमका साथै सोमबार आमहडतालसहित नेपाल बन्दको आयोजना गरेको थियो।’
नेपाल बन्द सफल भएकाे जिकिर गर्दै विप्लवले शहीदको रगत खेर जान नदिने र एकीकृत जनक्रान्ति पुरा गरेरै छाड्ने चेतावनी दिएका छन्।
यस्ताे छ बिज्ञप्ति