सहकारीमा २६ करोड ठगी गर्नेलाई जोगाउन किर्ते कागजात

बाँके, नेपालगञ्जस्थित सहकारी वित्तिय विकास सस्था लिमिटेडमा आन्तरिक छानविनमा २६ करोड ठगी गर्ने कर्मचारीलाई कागजात गराएर जोगाउन खोजेको सार्वजनिक भएको छ । कागजात गरेका कर्मचारीहरु सम्पर्कविहिन भएपछि सहकारीले १५ दिनका लागि कामकाज बन्द भएको सूचना निकालेको छ ।

 

बचतकर्ताले आइतबार सहकारी र प्रशासनमा घेराउ गरेका छन् । सहकारीका अध्यक्ष हरदेब बक्स चौधरीले प्रतिवेदन बुझेपछि सहकारीको बदनाम हुने भन्दै बैशाख १६ मा हिनामिनामा मुछिएका कर्मचारीलाई एकबर्षभित्र रकम फिर्ता गराउने कागजात गराएको बताए ।

सहकारीको छानविन समितिको प्रतिवेदन अनुसार प्रबन्धक अरुणकुमार पाठकले २२ करोड, नायब महाप्रबन्धक गंगाधर सुवेदीले ३ करोड, बैजापुर शाखा प्रमुख लिलाधर वलीले ४४ लाख र खजुरा शाखा प्रमुख सुर्यकुमार विकले ६४ लाख रुपिया हिनामिना गरेको उल्लेख छ ।

प्रतिवेदनमा उल्लेख भएको रकम बुझाउन कागज गरेका उनीहरुमध्ये जेठ ५ गतेदेखि प्रबन्धक पाठक र बैजापुर शाखा प्रमुख लिलाधर र नायब प्रबन्धक सुवेदी पनि विरामी भएको भन्दै जेठ ११ गतेदेखि सम्पर्कविहिन भएको अध्यक्ष चौधरीले जानकारी दिए । श्रोतका अनुसार उनीहरुले नक्कली कर्जा वितरण गरेको कागजात बनाएर रकम ठगी गरेका हुन् ।