संसदमा ‘विप्लव’हंगामा-गृहमन्त्रीलाई विगत सम्झिन प्रतिपक्षीको सुझाव
काठमाडौं,आइतबार भएका विस्फोटमा परी मृत्यु हुनेहरु नेपाली नागरिक नभएको भन्ने गृहमन्त्रीको भनाइप्रति प्रतिपक्षी दलका सांसदहरुले गृहमन्त्रीको आलोचना गर्दै नेपाली नागरिक नभए कुन देशका नागरिक हुन् भन्ने स्पष्ट पार्न माग गरेका छन्। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसलगायतका सांसदहरुले संसदमा यसको कारणसमेत माग गरे।
हेर्नुस कसले के भने ?
पुष्पा भुषाल
शान्ति सुरक्षा दिन नसकेको यो सरकारले आफ्नो हठलाई नत्याग्ने त्यसको परिणाम स्वरुप विप्लव समूहले आफ्नो हिंसा नत्याग्ने हो भने नेपाली जनताले पीडा र मर्का कहिलेसम्म व्योहर्ने? माननीय गृहमन्त्रीले हिजो भर्खरै शृङखलावद्ध घटनामा चार जना मृतक भएका नेपाली नागरिक होइनन् जनता होइनन् भन्नुभयो ती को हुन्?
खगराज अधिकारी
हिंसात्मक गतिविधिलाई नियन्त्रण गर्न सरकारले दुईवटै प्रक्रिया अपनाएको देखियो। एउटा हिंसात्मक गतिविधिलाई नियन्त्रण गर्ने र अर्को वार्ता जारी छ भनेर भन्नु भएको छ। यसलाई धन्यवाद छ।
मृत्यु भएका को छ तिनीहरु अपराधपूर्ण क्रियाकलाप हुन नागरिकको जस्तो व्यवहार नगरेर गैर नागरिकको व्यवहार गर्नेहरुको नाम पनि दिइएको छ।
प्रेम सुवाल
शान्ति सुरक्षा प्रत्याभुत हुन आवश्यकता छ। जे रोप्छ। त्यही फल्छ। यसको उपाय के छ? आत्मसमिक्षा गर्न आवश्यक छ।
देवेन्द्रराज कँडेल
मधेशमा एउटा उखान छ ‘समय समयकी वात, मूर्गी मारे लात’ हिजोको द्वन्द्वकालिन समयमा तत्कालिन सरकारले जुन आज यो रोस्टमबाट गृहमन्त्रीले जे बोल्दै हुनुहुन्छ। हिजोको सरकारले पनि त्यही बोल्थ्यो। उहाँले गृहमन्त्रालय सम्हाल्दा खेरी आज उहाँले त्यही भाषा बोलिरहनुभएको छ। हिजोको सरकारले गरेको त्यो काम गलत थियो की सही थियो उहाँले भन्नुपर्यो।
आज चार जनाको बम बिष्फोटमा परी मृत्यु भएको छ। यो काममा उहाँको हिजोको सहयात्रीहरु सहभागी छन्। आज जो मरे पनि के ती नेपाली नागरिक होइनन् ?
महेश बस्नेत
हिजोको बम काण्डका अपराधीलाई गृहमन्त्रीले अपराधी हुन् भन्नु भएको छ । यसमा मेरो पूर्ण समर्थन छ।
विप्लव समूहमाथि लगाएको प्रतिबन्धमा मेरो पूर्ण समर्थन छ। कतिपय मान्य ज्यूहरुले बम पड्काएको विरोध पनि गर्नुहुन्छ। प्रतिबन्ध लगाएको पनि विरोध पनि गर्नुहुन्छ। यस्तो दोभाषे कुरा नगर्न अनुरोध गर्दछु।
पाँचथर घटनाका दोषीहरुले आत्महत्या गरे भन्ने कुरा सुनिएको छ। ति अपराधीलाई समाउनका लागि स्वर्गमा रहेका गृहमन्त्री ज्यूसँग छलफल गर्नुपर्छ भने पनि गृहमन्त्रीले प्रमुख प्रतिपक्षसँग छलफल गरेर गृहमन्त्री ज्यूले पहल गर्नुपर्ला।
राजेन्द्रकुमार केसी
राजधानीमा हिजो घटेको बम काण्डले जनताहरु आतंकित भएका छन्। कसरी शान्ति सुरक्षाको अनुभुति गराउनुहुन्छ जवाफ चाहियो। चार वटा कम्पनी निर्माण भएका छन्। कम्पनी भनेको के हो गृहमन्त्रीलाई पुरानो अनुभव पनि होला स्पष्ट पारिदिनुस्।
लक्ष्मी परियार
हिजो भएका घटनामा मृत्यु भएका व्यक्तिहरु नागरिक होइनन् भन्नुभयो उनीहरु नेपाली नागरिक होइनन् भने कहाँका नागरिक हुन् ? अब नेपाली नागरिकले कहिले सम्म अनागरिक बन्दै हिँड्नु पर्ने हो ? गृहमन्त्री ज्यूले क कसलाई अनागरिक बनाउँदै हिँड्नुहुन्छ जवाफ चाहियो।
अमरेसकुमार सिंह
एकतातिर राज्य आतंक छ। अर्कोतिर उहाँहरुका सहयात्रीहरुको पनि बम आतंक छ। राज्य आतंक किन भने भने निर्मला पन्तका अपराधी अहिलेसम्म कारवाही भएको छैन। झुट्टो मुद्दा लगाउने ?
अहिले नागरिकलाई चिन्ता के हिजो एउटा कम्युनिस्ट पार्टी सरकार र संसदमा थियो। अर्को बम पड्काइरहेको थियो। पछि दुइटै एउटै भए। अहिले पनि यही त भइरहेको छैन्? ती मिलेका छन्। अहिले फेरी एउटा कम्युनिस्ट पार्टी सरकारमा छ। अर्को बम पड्काउँदै छ। नागरिकको आवाज दबाउनका लागि यी दुईवटै पार्टीको मिलन बिन्दु त होइन्रु
पार्वता डिसी चौधरी
मृत्यु हुने नेपाली नागरिक होइनन् भने कुन देशका नागरिक हुन् ? जीवितै हुँदा नागरिक नभएका हुन की मृत्यु पछि नागरिक नभएका हुन् ।
भरतकुमार शाह
सापका खुट्टा सापले नै देख्छ। विप्लवलाई किन देख्नु भएको छैन। सरकार शान्ति सुरक्षा दिन पूर्ण रुपमा असफल भयो।
शरतसिंह भण्डारी
राजनीतिक स्थिरता र स्थायीत्वको नारा लगाए पनि राजनीतिक समस्या छ । गृहमन्त्रीले एकतातिर अपराधी भन्नुहुन्छ। अर्कोतिर वार्ताको पनि कुरा गर्नुहुन्छ। के अपराधीसँग गृहमन्त्री वार्ता गर्न तयार हुनुभएको हो ? होइन भने मुलुकमा रहेका तमाम मधेस दलित लगायतका राजनीतिक मुद्दाको समाधान राजनीतिक ढंगबाट होस।
उमा रेग्मी
उपत्यकामा बम पड्कियो जनतालाई पूर्व माओवादी झल्को आइरहेको छ। जनता त्रसित हुन सुरु गरेका छन्। हिजो नेपाली कांग्रेले माओवादीलाई वार्ता गरेर मुलधारमा ल्याएको हो। यो सरकारले किन द्वन्द्व चाहिरहेको छ। अविलम्ब वार्तामा ल्याएर समस्याको समाधान गर्नुपर्यो।
सुजाता परियार
बमकाण्डमा मृत्यु भएका नागरिकलाई नेपाली नागरिक होइन भन्नुभयो। उहाँहरु नेपाली नागरिकहरु होइनन भन् को हुन् त ? विप्लव समूहसँग सरकार किन वर्ता गर्न चाहँदैन?
देवप्रसाद तिमिल्सिना
काठमाडौँमा श्रृखलाबद्ध आक्रमण भएका छन्। यो सरकारले केही गर्न सकेको छैन। किन भने सबैकुरा उहाँहरुलाई थाहा छ। थाहा भएकै कारणले नेपाली नागरिक होइनन् भन्नुभयो।
हिजोको सरकारले पनि नेपाली नागरिक होइनन् आन्दोलनकारी भन्थ्यो आज गृहमन्त्री ज्यूले नागरिक होइनन् भन्नुभयो त्यो दिन बिर्सनुभयो की जस्तो लाग्यो ? उहाँहरुलाई वार्तामा ल्याएर छिट्टोभन्दा छिट्टो समस्याको समाधान गर्नुपर्यो विप्लव समूहलाई वार्तामा ल्याउँदा उहाँको गृहमन्त्रीको पद जान्छ की भनेर डराउनुभएको हो की ?
लक्ष्मणलाल कर्ण
हिजोको घटनाले देशवासी नै चिन्तित छ। एकातिर प्रतिबन्ध लगाइएको छ। अर्कोतिर वार्ताको कुरा पनि गरिराख्नुभएको छ। के यो वार्ताको परिणाम हो ?
मीनेन्द्र रिजाल
सरकारले हठ छाडोस विप्लवले हिंसा छाड्नुपर्छ। सशस्त्र युद्धमा बाँचे सत्तामा पुगिन्छ। मरे नागरिकता जान्छ भन्ने गृहमन्त्रीको भनाइबाट समस्या समाधान हुँदैन्। गम्भिर बन्नुस हिजोका आफ्ना दिन सम्झिनुस जनतालाई दु: नदिनुस।