लेक लागेर हुम्लामा एक जनाको मृत्यु
हुम्ला ,आइतबार बिहान नाम्खा गाउँपालिका ५ मा पर्ने नारा लेकमा लेक लागेर १ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा नाम्खा ६ तिलगाउँका ६९ वर्षीय छिरीङ लामा रहेका छन्।
हिमपातले बन्द भएको उत्तरी हिल्सा नाका खुलेपछि केही दिन अगाडि काठमाडौंबाट सिमकोट आएका लामा एक हप्तापछि सिमकोट बसेर आफ्नो घर लिमीको तिलगाउँ जाने क्रममा करिब ५ हजार मिटर उचाइको नारा लेकमा लेक लागेर उनको मृत्यु भएको सीमा चौकी हिल्सालाई उद्धृत गर्दै हुम्ला जिल्ला प्रहरी प्रमुख डिएसपी रामप्रशाद घर्तिमगरले बताए।
मंसिरमा काठमाडौं झरेका लामा घर जान भनेर ३ दिन अगाडि सिमकोटबाट हिँडेको नाम्खा ६ लिमीका वडाध्यक्ष पाल्जोर तामाङले बताए। बिहान लेक लागेर हिँड्न नसक्ने भएपछि लामालाई भारतीय धार्मिक पर्यटक पुर्याउन हिल्सा गएको माउण्टेन हेलिकोप्टरले उद्धार गरेको थियो। उनको दिउँसो १२ बजे मृत्यु भएको हुम्ला डिएसपी घर्ती मगरले बताए।